कर्मचारी सरुवाको लागि आवेदनदेखि निर्णयसम्म अब अनलाइनबाटै गर्ने सकिने व्यवस्था

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले निजामती कर्मचारीको सरुवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल प्रणालीमार्फत सञ्चालन गर्ने तयारी थालेको छ। सरुवा प्रक्रियालाई पारदर्शी, व्यवस्थित, छिटोछरितो र प्रविधिमैत्री बनाउने उद्देश्यले मन्त्रालयले डिजिटल सरुवा प्रणाली विकासको काम अघि बढाएको हो।

मन्त्रालयका अनुसार नयाँ प्रणाली कर्मचारीको डिजिटल प्रोफाइलमा आधारित हुनेछ। कर्मचारीको व्यक्तिगत विवरण तथा सेवा अभिलेख सम्बन्धित प्रणालीसँग प्रत्यक्ष वा एपीआईमार्फत जोडिने भएकाले आवश्यक जानकारी स्वतः अद्यावधिक हुने व्यवस्था गरिनेछ।

डिजिटल प्रणालीमा सरुवा आवेदनका लागि ‘फ्ल्यागिङ’ सुविधा पनि रहनेछ। यसले दोहोरिएका, विशेष निगरानी आवश्यक पर्ने वा थप परीक्षण गर्नुपर्ने आवेदन सहज रूपमा पहिचान गर्न सहयोग गर्ने मन्त्रालयको भनाइ छ। साथै कर्मचारीले आफ्नो सरुवा आवेदन कुन चरणमा पुगेको छ भन्ने विवरण अनलाइनमार्फत वास्तविक समयमै हेर्न सक्नेछन्।

मन्त्रालयका अनुसार सरुवासम्बन्धी पत्राचार प्रणालीबाटै स्वचालित रूपमा तयार हुनेछ। आवश्यक परे अन्य सरकारी निकायका सूचना प्रणालीसँग एपीआईमार्फत सूचना आदान–प्रदान गर्न सकिने व्यवस्था पनि रहनेछ। सरुवासम्बन्धी निर्णय तथा विवरण मन्त्रालयको वेबसाइटमा २४ घण्टाभित्र स्वतः सार्वजनिक गर्ने व्यवस्था मिलाइने जनाइएको छ।

भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले कर्मचारी प्रशासनलाई पारदर्शी, उत्तरदायी र प्रविधिमैत्री बनाउने सरकारको नीतिअनुसार डिजिटल सरुवा प्रणालीलाई प्राथमिकताका साथ अघि बढाइएको बताइन्। उनका अनुसार प्रणाली कार्यान्वयनमा आएपछि सरुवा प्रक्रियामा हुने ढिलाइ घट्ने, पारदर्शिता बढ्ने र कर्मचारीले थप सहज तथा विश्वासयोग्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्