काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका चार निजामती कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ। मन्त्रालयका अनुसार बिदा अवधि समाप्त भएपछि पनि कार्यरत कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेको पाइएपछि ती कर्मचारीविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको हो।
अनुसन्धानका क्रममा सम्बन्धित कर्मचारीहरूले अस्थायी आवासीय अनुमति, स्थायी आवासीय अनुमति तथा डाइभर्सिटी भिसा (डीभी) प्राप्त गरी विदेशमा बसोबास गरिरहेको खुल्न आएको मन्त्रालयले जनाएको छ। निजामती सेवा ऐन, २०४९ अनुसार उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरी कारबाही प्रक्रिया अघि बढाउनुपर्ने अवस्था देखिएको मन्त्रालयको भनाइ छ।
यस सम्बन्धमा १५ दिनभित्र चित्तबुझ्दो आधार, प्रमाण तथा स्पष्टीकरण पेश गर्न सम्बन्धित कर्मचारीलाई निर्देशन दिइएको छ। तोकिएको अवधिभित्र उचित जवाफ प्राप्त नभए प्रचलित कानुनअनुसार थप कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ।





