काठमाडौं – इरानले अमेरिकासँग कतारको दोहामा नयाँ प्रत्यक्ष वार्ता हुने दाबी अस्वीकार गर्दै निकट भविष्यमा कुनै पनि स्तरमा द्विपक्षीय वार्ता नहुने स्पष्ट पारेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले इरानले नयाँ राजनीतिक वार्ता सुरु गर्ने योजना नरहेको र अहिले विद्यमान समझदारीको प्राविधिक कार्यान्वयनलाई प्राथमिकताका साथ अघि बढाइरहेको बताएका छन्।
उनका अनुसार अमेरिकाले सम्झौताअनुसार इरानी तेलको बिक्री सहज बनाउन आवश्यक अनुमतिहरू जारी गरिसकेको छ। अब इरानले सम्झौतामा उल्लेख गरिएका प्रावधानहरूको प्रभावकारी कार्यान्वयनमा ध्यान केन्द्रित गरिरहेको र विशेष प्रतिनिधिमण्डल त्यसैको अनुगमनका लागि दोहा जाने तयारीमा रहेको छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोहामा इरानसँग उच्चस्तरीय कूटनीतिक वार्ता हुने दाबी गरेका थिए। सोही क्रममा अमेरिकी विशेष दूत स्टिभ विटकोफ कतार प्रस्थान गरिरहेका बेला इरानी विदेश मन्त्रालयले नयाँ वार्ताको सम्भावनालाई औपचारिक रूपमा अस्वीकार गरेको हो। यसैबीच इरानी राष्ट्रपति मसूद पेजेस्कियनले अमेरिकाले सम्झौताप्रति आफ्नो प्रतिबद्धता पूरा गरे इरान पनि त्यसप्रति पूर्ण रूपमा प्रतिबद्ध रहने बताएका छन्। उनले दुवै पक्षले सहमतिको पालना गरे मात्र आपसी विश्वास कायम रहने धारणा व्यक्त गरेका छन्।




