राजदूत बन्न झण्डै ३ हजारको आवेदन, खुला प्रतिस्पर्धामा अभूतपूर्व आकर्षण

काठमाडौं । विभिन्न देशका लागि राजदूत तथा स्थायी प्रतिनिधि पदमा नियुक्त हुन झण्डै तीन हजार जनाले आवेदन दिएका छन्। नेपालमा पहिलोपटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्तिका लागि गरिएको आह्वानमा अपेक्षाभन्दा बढी आकर्षण देखिएको हो। परराष्ट्र मन्त्रालयले जेठ १४ गतेदेखि आवेदन आह्वान गरेको थियो। आवेदन दिने अन्तिम दिन शुक्रबारसम्म अनलाइन, इमेल तथा भौतिक उपस्थितिमार्फत ठूलो सङ्ख्यामा आवेदन प्राप्त भएको मन्त्रालयले जनाएको छ।

सरकारले विभिन्न १३ देश तथा अन्तर्राष्ट्रिय नियोगका लागि राजदूत र स्थायी प्रतिनिधि पदमा आवेदन मागेको थियो। खुला प्रतिस्पर्धामार्फत योग्य व्यक्तिको छनोट गरी कूटनीतिक नियुक्तिलाई थप पारदर्शी, प्रतिस्पर्धी र व्यावसायिक बनाउने उद्देश्यका साथ आवेदन आह्वान गरिएको हो। यसअघि तत्कालीन सरकारले राजनीतिक नियुक्ति पाएका विभिन्न १० देशका राजदूतलाई फिर्ता बोलाएको थियो। त्यसपछि वर्तमान सरकारले बाँकी राजनीतिक नियुक्तिबाट आएका राजदूतहरूलाई पनि पदमुक्त गरेपछि ती पदहरू रिक्त भएका थिए।

रिक्त पदहरूमा नयाँ नियुक्तिका लागि सरकारले खुला प्रतिस्पर्धाको प्रक्रिया अघि बढाएको हो। परराष्ट्र मन्त्रालयले प्राप्त आवेदनहरूको रुजु, प्रमाणीकरण तथा मूल्याङ्कनपछि योग्य उम्मेदवारहरूको सूची मन्त्रिपरिषद्मा पठाउने तयारी गरिरहेको जनाएको छ। संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषद्ले सिफारिस गरेका उम्मेदवारहरूको संसदीय सुनुवाइ हुनेछ। सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट सम्बन्धित व्यक्तिलाई राजदूतका रूपमा नियुक्त गरिने व्यवस्था रहेको छ।

कूटनीतिक क्षेत्रमा खुला प्रतिस्पर्धामार्फत नियुक्ति गर्ने सरकारको निर्णयलाई प्रशासनिक सुधार र योग्यता आधारित नियुक्तिको दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। आवेदन सङ्ख्याले पनि विदेश सेवा र कूटनीतिक क्षेत्रमा नेपालीहरूको बढ्दो रुचि तथा आकर्षणलाई उजागर गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्