काठमाडौं । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको मूल्य पुनः वृद्धि गरेको छ। सङ्घको काठमाडौंमा बसेको भौतिक तथा भर्चुअल बैठकले शनिबारदेखि लागू हुने गरी अण्डाको नयाँ समर्थन मूल्य निर्धारण गरेको हो। सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको सुझावका आधारमा चितवनलाई आधार क्षेत्र मानेर नयाँ मूल्य कायम गरिएको हो।
नयाँ मूल्यसूचीअनुसार एक्सएल अण्डाको मूल्य प्रति क्रेट (३० वटा) ५६० रुपैयाँ, ठूलो अण्डाको ५४५ रुपैयाँ, मध्यम अण्डाको ५१५ रुपैयाँ तथा सानो अण्डाको मूल्य प्रति पेटी (६ क्रेट) ३ हजार रुपैयाँ निर्धारण गरिएको छ। नयाँ मूल्य लागू भएसँगै खुद्रा बजारमा एउटा अण्डाको मूल्य झण्डै २५ रुपैयाँ पुगेको छ। अध्यक्ष पोखरेलले गर्मीयामका कारण उत्पादनमा आएको कमी, दाना तथा अन्य उत्पादन सामग्रीको मूल्यवृद्धि र किसानको बढ्दो लागतलाई ध्यानमा राखेर नयाँ समर्थन मूल्य निर्धारण गरिएको बताउनुभयो।
पछिल्लो एक महिनायता अण्डाको मूल्य निरन्तर उकालो लागिरहेको छ। वैशाख तेस्रो सातासम्म एक्सएल अण्डाको मूल्य प्रति क्रेट ४६५ रुपैयाँ, ठूलो अण्डाको ४९० रुपैयाँ, मध्यम अण्डाको ४०० रुपैयाँ तथा सानो अण्डाको प्रति पेटी २ हजार ३ सय रुपैयाँ रहेको थियो। मूल्यवृद्धिबाट किसानले उत्पादन लागतअनुसारको मूल्य पाउन थालेका भए पनि लगातार बढ्दो भाउका कारण उपभोक्ता भने थप मारमा परेका छन्। सङ्घले उत्पादन लागत नियन्त्रण, बजार व्यवस्थापन तथा अण्डा उद्योगको दिगोपनाका लागि सरकारी सहयोग र नीतिगत समर्थन आवश्यक रहेको जनाएको छ।
कुखुरापालक व्यवसायीहरूका अनुसार उत्पादन र मागबीचको असन्तुलन, मौसमीय प्रभाव तथा लागत वृद्धिका कारण आगामी दिनमा पनि अण्डाको मूल्य सहजै घट्ने सम्भावना कम रहेको छ।






