दार्चुला – दार्चुलाको दुर्गम क्षेत्र अपिहिमाल गाउँपालिकालाई सडक सञ्जालसँग जोड्ने बहुप्रतीक्षित सडक निर्माण कार्यले महत्वपूर्ण सफलता हासिल गरेको छ। निर्माणाधीन सडक भट्टार गाउँ हुँदै गौडे खोलासम्म पुगेको छ भने केही दिनभित्रै काफलधारसम्म सडक विस्तार हुने भएको छ। अपिहिमाल गाउँपालिकाको निरन्तर पहल, सरोकारवाला निकायहरूको समन्वय तथा निर्माण कम्पनीको अथक प्रयासका कारण लामो समयदेखि चुनौतीपूर्ण मानिएको सडक निर्माण कार्यले गति लिएको हो।
गाउँपालिका अध्यक्ष भगतसिँह ठेकरे बोहराले सडक निर्माणमा निरन्तर खटिनुहुने निर्माण व्यवसायी तथा सडक डिभिजन कार्यालयका कर्मचारी, संघीय सांसद, प्रदेशसभा सदस्य, राजनीतिक दलका नेता तथा स्थानीय जनप्रतिनिधिहरूप्रति आभार व्यक्त गर्नुभएको छ।
विशेषगरी मकरीगाडदेखि भट्टारसम्मको कडा चट्टानी भूभाग सडक निर्माणको सबैभन्दा ठूलो चुनौतीका रूपमा रहेको थियो। सामान्य प्रयासले सडक निर्माण सम्भव नभएको उक्त क्षेत्रमा प्राविधिक तथा भौतिक कठिनाइबीच निर्माण कार्य सम्पन्न हुनु महत्वपूर्ण उपलब्धि भएको गाउँपालिकाको भनाइ छ।
सडक निर्माणको पछिल्लो प्रगतिसँगै अब छिट्टै अपिहिमाल गाउँपालिकाको केन्द्रसम्म सडक पुग्ने अपेक्षा गरिएको छ। बाँकी निर्माण कार्यलाई निर्धारित समयमै सम्पन्न गर्न स्थानीय समुदाय, जनप्रतिनिधि, राजनीतिक दल तथा सबै सरोकारवालाको निरन्तर सहयोग आवश्यक रहेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अनुसार आगामी आर्थिक वर्ष अपिहिमालको विकासका दृष्टिले विशेष महत्वको वर्ष बन्नेछ। पारिवगर–मकरीगाड सडक स्तरोन्नतिको ठेक्का प्रक्रिया सम्पन्न भइसकेको छ भने आगामी दुई वर्षभित्र कालोपत्रे कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
त्यसैगरी मकरीगाडमा पुल निर्माणको ठेक्का पनि भइसकेको छ, जसलाई दुई वर्षभित्र सम्पन्न गर्ने योजना रहेको छ। वडा नम्बर ४ र वडा नम्बर ३ लाई जोड्ने सडक निर्माणका लागि सात करोड रुपैयाँ बजेट सुनिश्चित भइसकेको र नयाँ आर्थिक वर्षबाट निर्माण कार्य सुरु हुने जानकारी दिइएको छ। स्थानीय नेतृत्वले विकासलाई साझा एजेण्डाका रूपमा लिएर राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठ्न आग्रह गरेको छ।
दुर्गम हिमाली क्षेत्र अपिहिमालमा सडक सञ्जाल विस्तारसँगै स्थानीय जनजीवन, व्यापार, पर्यटन, शिक्षा तथा स्वास्थ्य सेवामा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।







