नेपाली सङ्गीतका एक अथक यात्री हुन नन्दकृष्ण जोशी । लोक संगीतका देउडा गायकको रुपमा पहिचान बनाउनुभएका जोशीका थुप्रै गीतहरु सुन्न पाइन्छन् । बझाङ जिल्लाको तलकोटमा २०१५ साउन १५ मा पिता जगदीश जोशी र माता गंगमती जोशीको काखबाट जन्मिनु भएका गायक जोशी नेपाली सङ्गीतका एक अथक यात्री हुन। उहाँ चार बहिनी र चार भाईमध्येका कान्छा छोरा हुन् ।
जुन बेला नन्दकृष्णले सुदूरपश्चिमका गाउँमा गीत गाउन सुरु गरे त्यो बेला गाउँमा ब्राह्मणको छोराले गीत गाउनुहुदैन भन्ने गर्दथे । गीत गाउँदा सुरुमा सम्मान होइन पिटाइ पनि नखाएको कहाँ हो र । त्यति खेर गीत गाएको कसैले नसुनुन भनेर उनी एकान्तमा गीत गुनगुनाउथे । उनको गीत एकान्तमा बनपाखा जादा, बाख्रा चराउन जादाँ, घासदाउरा गर्न जादा एकान्तमा नै गुन्जिन्थ्यो ।
प्रकृति प्रेम, ग्रामीण चालचलन, संस्कृति अनि देवीदेवताका इतिहास र समाजको सुख-दुःखका कथा उनका गीति सिर्जनाका सामाथ्र्य हुन् । सुदूरपश्चिम क्षेत्रको मौलिक नेपाली गीति गायन, सङ्कलन र प्रर्बद्धनमा उहाँको अविराम यात्रा प्रशंसनीय छ । गायनका लागि मञ्च उक्लिनसाथ उहाँको सम्मानमा दर्शकबाट गुञ्जिने गीत ‘झ्याम्म झ्याम्म…. तालीको लयबद्ध गड्गडाहट नै उहाँले कमाउनु भएको ठूलो सम्पति हो ।
राजनीतिशास्त्रमा रमाएका उहाँ नेपालको प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभासद हुने दोस्रो सुदूरपश्चिेमेली गायक हुन् । उहाँको अध्ययनको विषय राजनीतिशास्त्र भएपनि देउडा गितलाई राष्ट्रियस्तरमा चिनाउन सफल भए । नेपाली मौलिक भाका सङ्कलन, गायन र प्रबद्र्धनप्रतिको उहाँको समर्पणभाव र साधनाको साक्षी हो रेडियो नेपाल ।
२०३५ सालमा पहिलो पटक रेडियो नेपालमा देउडा गित रेकर्ड गराउनुभएका गायक जोशी रेडियो नेपालको प्रथम देउडा गायक हुन् । त्यसपछिका जीवनयात्रामा २२ वटा लोक तथा देउडा गीतका एल्बमहरु प्रकाशित गर्नुभयो भने अन्य सयौँ गीतमा स्वर दिनुभयो ।
असख्यक पुरस्कार तथा विभुषणहरु प्राप्त गर्नुभएका गायक जोशी नेपालको राष्ट्रिय गीत सयौँ थुंगा फुलका हामीको चयन समितिमा समेत रहनुभयो । उहाँ नेपालको प्रजातान्त्रिक तथा गणतान्त्रिक जनआन्दोलनमा पटक पटक जेल समेत परेका एक सांगितिक स्रष्टा हुन् । उहाँ विशेष गरी आफ्नो मधुर आवाज र भावनात्मक गायक शैलीको लागि चिनिन्छन्। उहाँका गीतहरूले नेपाली संस्कृतिको संवर्धन र संरक्षणमा पनि योगदान पुर्याएका छन्।






