एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नेक्सस इन्टरनेशनल स्कुलद्वारा बिदाइ तथा सम्मान

काठमाडौं – पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीलाई बिदाइ तथा सम्मान गरेको छ। विद्यालयले एक विशेष कार्यक्रम आयोजना गरी उत्कृष्ट ग्रेड प्राप्त गर्ने विद्यार्थीहरूलाई सम्मान गर्दै आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरेको हो।

यस वर्ष विद्यालयकी छात्रा गौरवी पराजुलीले ४.० जीपीए प्राप्त गरेकी थिइन्। त्यस्तै ५५ जना विद्यार्थीले ए प्लस, ४१ जनाले ए तथा १० जनाले बी प्लस ग्रेड हासिल गरेका थिए। विद्यालयले यस वर्ष पनि उत्कृष्ट नतिजा कायम राख्दै गुणस्तरीय शिक्षाप्रतिको आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको जनाएको छ।

कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल आरबी कटवालले विद्यार्थी, अभिभावक र शिक्षकहरूको सामूहिक मेहनतका कारण उत्कृष्ट नतिजा सम्भव भएको बताउनुभयो। उहाँले नेक्सस इन्टरनेशनल स्कुलले केवल परीक्षामुखी शिक्षा नभई विद्यार्थीको समग्र व्यक्तित्व विकास, नैतिक मूल्य, नेतृत्व क्षमता तथा व्यवहारिक ज्ञान अभिवृद्धिमा समेत विशेष ध्यान दिँदै आएको उल्लेख गर्नुभयो। उहाँले सम्मानित तथा बिदाइ गरिएका विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै आगामी शैक्षिक यात्रामा पनि यही मेहनत, अनुशासन र समर्पणलाई निरन्तरता दिन आग्रह गर्नुभयो।

विद्यालयकी भाइस प्रिन्सिपल स्वीकृती राईले उत्कृष्ट नतिजा हासिल गर्ने सम्पूर्ण विद्यार्थीलाई बधाई दिँदै विद्यालयबाट प्राप्त ज्ञान, अनुशासन र संस्कारलाई जीवनभर आत्मसात गर्न सुझाव दिनुभयो। उहाँले भन्नुभयो, “एसईई एउटा महत्वपूर्ण शैक्षिक उपलब्धि हो, तर यो अन्तिम गन्तव्य होइन। अबको यात्रा अझ चुनौतीपूर्ण र अवसरपूर्ण छ। विद्यार्थीहरूले आफ्नो लक्ष्य स्पष्ट राखेर निरन्तर मेहनत गरे सफलता अवश्य प्राप्त गर्न सकिन्छ। नेक्सस परिवार सधैं तपाईंहरूको सफलताको सहयात्री रहनेछ।”

कार्यक्रममा विद्यार्थीहरूले विद्यालयसँग बिताएका स्मरणीय क्षणहरू साझा गरेका थिए। उनीहरूले विद्यालयबाट प्राप्त शिक्षा, मार्गदर्शन र सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा विद्यालयको नाम अझ उज्ज्वल बनाउने प्रतिबद्धता जनाएका थिए। विद्यालयले आधुनिक शिक्षण प्रणाली, प्रविधिमैत्री कक्षा, अनुभवी शिक्षक टोली, करियर परामर्श तथा अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको क्षमता विकासमा विशेष जोड दिँदै आएको जनाएको छ। विद्यालयका अनुसार सुरक्षित, अनुशासित र विद्यार्थीमैत्री वातावरणका कारण नेक्सस इन्टरनेशनल स्कुल अभिभावकहरूको रोजाइको शैक्षिक संस्था बन्दै गएको छ।

उत्कृष्ट नतिजासँगै बिदाइ कार्यक्रमले विद्यार्थीको शैक्षिक यात्राको एक चरण सफलतापूर्वक सम्पन्न भएको र उनीहरू नयाँ गन्तव्यतर्फ अघि बढेको सन्देश दिएको विद्यालयले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्