काठमाडौं – काठमाडौंको जडीबुटी क्षेत्रमा प्रहरीले गोली चलाएर लुटपाटमा संलग्न एक आरोपितलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले जडीबुटीस्थित रोयल पार्टी प्यालेस नजिकै शनिबार साँझ पक्राउ गर्ने क्रममा गोली प्रहार गरेको हो। पक्राउ पर्नेमा काठमाडौंको भद्रकाली निवासी गणेश कार्की रहेका छन्। प्रहरीका अनुसार कार्कीको बायाँ खुट्टामा गोली लागेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार शनिबार दिउँसो सुकेधारामा एक महिलामाथि लुटपाट भएको थियो। लुटेराले महिलासँग रहेको सुनसहितका गरगहना लुटेर फरार भएका थिए। घटनामा संलग्न एक जनालाई प्रहरीले दिउँसै पक्राउ गरेको थियो भने फरार रहेका अर्का आरोपित कार्कीलाई साँझ जडीबुटीबाट पक्राउ गर्ने क्रममा गोली चलाइएको प्रहरीले जनाएको छ।
गोली लागेर घाइते भएका कार्कीलाई उपचारका लागि ट्रमा सेन्टरमा भर्ना गरिएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






