काठमाडौं – देशभर गर्मी बढ्दै गएको छ । विशेषगरी आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तापक्रम थप बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले ती क्षेत्रका बासिन्दालाई अत्यधिक गर्मीबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
हिजो देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भए पनि वर्षा नभएका अधिकांश क्षेत्रमा गर्मी बढेको थियो । मौसमविद्का अनुसार अब बिस्तारै तापक्रम अझ बढ्दै जाने सम्भावना रहेको छ । महाशाखाका अनुसार आज र भोलि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि अधिकांश क्षेत्रमा गर्मी कायम रहनेछ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ ।





