गुम्दै गएको गौरव र पुनर्जागरणको आशा: एउटा सामुदायिक विद्यालयको यथार्थ इतिहास

कुनै समय थियो, एउटा विद्यालयको नाम मात्र सुन्नासाथ श्रोतकेन्द्रस्तरीय प्रतियोगिताहरूमा सहभागी अन्य विद्यालयहरूमा मानसिक दबाब सिर्जना हुन्थ्यो। निबन्ध लेखन, वादविवाद, हाजिरीजवाफ, हिज्जे, चित्रकला, खेलकुद- जुनसुकै प्रतियोगिता होस्, “यो विद्यालय आएको छ भने जित्न गाह्रो छ” भन्ने धारणा पहिल्यै बनिसकेको हुन्थ्यो। त्यो कुनै आकस्मिक उपलब्धि थिएन। त्यो विद्यालयको शैक्षिक स्तर, अनुशासन, शिक्षकको मेहनत र विद्यार्थीको लगनशीलताको परिणाम थियो। जुन विद्यालय हो बद्रिनाथ माध्यमिक विद्यालय, शैल्यशिखर-७, बोहरीगाउँ ।

यही विद्यालयले कुनै बेला एकै वर्ष ६४ जना विद्यार्थीलाई एसएलसी परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण गराउँदै जिल्लामै उत्कृष्ट नतिजा निकालेको गौरव बोकेको थियो। त्यो केवल एउटा परीक्षा नतिजा थिएन, त्यो ग्रामीण भेगमा शिक्षाप्रतिको चेतना, विश्वास र सामूहिक प्रयासको प्रतीक थियो। गाउँका अभिभावक आफ्ना छोराछोरी यही विद्यालयमा पढाउन पाउँदा गर्व गर्थे। विद्यालयको नाम समाजमा प्रतिष्ठा र विश्वासको पर्याय बनेको थियो।

तर समय फेरियो। आज त्यही विद्यालयको अवस्था हेर्दा धेरैको मन दुख्छ। कुनै बेला प्रतियोगिताको अग्रपंक्तिमा उभिने विद्यालय आज विभिन्न कार्यक्रममा सहभागी हुँदा कतिपयले “यो त फलानो विद्यालय” भनेर हेपाहा दृष्टिले हेर्ने अवस्था सिर्जना भएको छ। अझै पनि केही विधामा विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्, तर विद्यालय र त्यसका सहभागीप्रति पहिलेको सम्मान र विश्वास हराउँदै गएको महसुस हुन्छ।

यो अवस्था किन आयो ?
यो प्रश्नको उत्तर खोज्नु अत्यन्त आवश्यक छ।

विद्यालय कमजोर हुनुको दोष केवल शिक्षक वा विद्यालय प्रशासनमाथि थोपर्न मिल्दैन। यसका पछाडि राज्यको नीति, अभिभावकको कमजोर चासो, समाजको बदलिँदो सोच, नेतृत्व पक्षको कमजोरी तथा शैक्षिक वातावरणप्रतिको उदासीनता सबै जिम्मेवार छन्। तर यी सबैमध्ये सबैभन्दा गम्भीर र आधारभूत समस्या भनेको शिक्षक दरबन्दीको अभाव हो।

वर्षौंदेखि पर्याप्त शिक्षक नपाउँदा विद्यालयले गुणस्तरीय पठनपाठन सञ्चालन गर्न कठिनाइ भोगिरहेको छ। विषयगत शिक्षक अभाव हुँदा एउटै शिक्षकले धेरै विषय र कक्षा सम्हाल्नुपर्ने अवस्था छ। केही अस्थायी, करार तथा नगरपालिका अन्तर्गतका शिक्षक व्यवस्थापन गरिए पनि उनीहरूलाई पर्याप्त तालिम, अभिमुखीकरण वा क्षमता विकासका अवसर उपलब्ध गराइँदैन। यस्तो अवस्थामा अपेक्षित शैक्षिक उपलब्धि हासिल गर्नु सहज हुँदैन।

आज शिक्षा केवल पाठ्यपुस्तकमा सीमित छैन। विद्यार्थीलाई प्रेरणा, मार्गदर्शन, प्रविधि, मनोवैज्ञानिक सहयोग र व्यवहारिक शिक्षा पनि आवश्यक पर्छ। तर राज्यका जिम्मेवार निकायले विद्यालयको वास्तविक समस्या बुझ्न नसक्नु वा बुझेर पनि बेवास्ता गर्नु दुःखद पक्ष हो। अर्कोतर्फ अभिभावकहरूको भूमिका पनि कमजोर बन्दै गएको देखिन्छ। कतिपय अभिभावक आफ्ना छोराछोरी विद्यालय गए कि गएनन्, कसरी पढिरहेका छन्, मोबाइल, सामाजिक सञ्जाल वा कुलतको प्रभावमा त छैनन् भन्ने विषयमा गम्भीर देखिँदैनन्। “विद्यालय पठाइदियो, जिम्मेवारी पूरा भयो” भन्ने सोच बढ्दो छ। अझ दुःखको कुरा, शिक्षकले विद्यार्थीलाई अनुशासनमा राख्न वा गलत बाटोबाट फर्काउन खोज्दा कतिपय अभिभावकबाट उल्टै दबाब आउने गरेको छ। यस्तो प्रवृत्तिले शिक्षकको मनोबल कमजोर बनाएको छ।

यससँगै नियमित शैक्षिक अनुगमन, शिक्षक तालिम, मेन्टरिङ, गोष्ठी तथा सहजीकरणको अभाव पनि देखिन्छ। केही शिक्षकमा देखिएको गैरजिम्मेवारीपन, नेतृत्व पक्षको कमजोरी, अध्ययन संस्कृतिको ह्रास र “पढेर के पाइन्छ र ?” भन्ने नकारात्मक भाष्यले विद्यालयको वातावरण झन् प्रभावित बनेको छ।

तर समस्या जति गम्भीर देखिए पनि समाधान असम्भव छैन।

यदि राज्य साँच्चै जिम्मेवार बन्ने हो भने यो विद्यालय फेरि पुरानै लयमा फर्कन सक्छ। सबैभन्दा पहिले आवश्यक दरबन्दीअनुसार स्थायी शिक्षक व्यवस्थापन गरिनुपर्छ। विषयगत शिक्षकलाई स्पष्ट जिम्मेवारी दिई कार्ययोजनासहित पठनपाठन सञ्चालन गरिनुपर्छ। शिक्षकहरूलाई समय-समयमा तालिम, अभिमुखीकरण र क्षमता विकासका अवसर उपलब्ध गराइनुपर्छ।

विद्यालयमा बलियो नेतृत्व स्थापना गर्नु पनि उत्तिकै आवश्यक छ। कम्तीमा एक जना अनुभवी स्थायी दरबन्दीका शिक्षकलाई प्रधानाध्यापकको जिम्मेवारीसहित पठाउनुपर्ने जनविश्वास बलियो रूपमा उठिरहेको छ। नेतृत्व सक्षम भयो भने विद्यालयलाई पुनः व्यवस्थित गर्न सहज हुन्छ।

त्यसैगरी अभिभावकलाई विद्यालयसँग जोड्ने गरी नियमित सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक छ। सफल पूर्वविद्यार्थी, समाजका प्रतिष्ठित व्यक्तित्व तथा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई विद्यालयमा आमन्त्रण गरी विद्यार्थीलाई प्रेरणा दिने वातावरण निर्माण गरिनुपर्छ। देशभित्रै अवसर छन्, शिक्षा र मेहनत कहिल्यै व्यर्थ जाँदैन भन्ने सकारात्मक सन्देश प्रवाह गर्न सक्नुपर्छ।

आज आवश्यकता केवल आलोचनाको होइन, सामूहिक समाधानको हो।
हामीले आफ्ना बालबालिका अन्यत्र पठाएर सिंगो गाउँको शैक्षिक धरोहर कमजोर बनाउने होइन, बरु संस्थाको सुधारका लागि पहल, दबाब, सहकार्य र सकारात्मक सोच निर्माण गर्न सक्नुपर्छ। केही विशेष परिस्थितिमा बाहिर पठाउनुपर्ने अवस्था आउन सक्छ, तर त्यसलाई विद्यालयप्रतिको अविश्वासको रूपमा मात्र हेर्नु उचित हुँदैन।

यो विद्यालयको गौरवशाली इतिहास मर्न दिनु हुँदैन।
हिजो जिल्लामै उत्कृष्ट नतिजा दिने विद्यालय फेरि उठ्न सक्छ— यदि राज्य जिम्मेवार बन्यो भने, यदि समाज सचेत बन्यो भने, यदि अभिभावक जागरूक बने भने, यदि विद्यालयभित्र अनुशासन, जिम्मेवारी र सकारात्मक नेतृत्व स्थापित भयो भने।

विश्वास गरौँ—
यो विद्यालयले फेरि आवश्यक स्थायी दरबन्दी प्राप्त गर्नेछ।
विद्यालयले फेरि गुमेको लय समात्नेछ।
फेरि उत्कृष्ट नतिजा निकाल्नेछ।
र फेरि एक दिन यस्तो समय आउनेछ, जहाँ यस विद्यालयको नाम सुन्नासाथ अन्य विद्यालयहरू सम्मानका साथ प्रतिस्पर्धा गर्न तयार हुनेछन्।

प्रेमबल्लभ जोशी, उपप्राध्यापक

सुदूरपश्चिम विश्वविद्यालय, गोकुलेश्वर बहुमुखी क्याम्पस, दार्चुला

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्