चीनबाट औपचारिक स्वतन्त्रता घोषणा नगर्न ताइवानलाई ट्रम्पको चेतावनी

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई चीनबाट औपचारिक स्वतन्त्रता घोषणा नगर्न चेतावनी दिएका छन् । बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको दुई दिने शिखर सम्मेलनपछि फक्स न्युजसँग कुरा गर्दै ट्रम्पले “म कोही स्वतन्त्र भएको हेर्न चाहन्न” भन्दै ताइवानको स्वतन्त्रता घोषणाप्रति अमेरिका सकारात्मक नरहेको संकेत दिएका हुन् ।

यसअघि लाइ चिङ–तेले ताइवान आफूलाई पहिल्यै सार्वभौम राष्ट्र मान्ने भएकाले औपचारिक स्वतन्त्रता घोषणा आवश्यक नरहेको बताएका थिए । अमेरिकाले लामो समयदेखि ताइवानलाई आत्मरक्षाका लागि सहयोग गर्दै आए पनि चीनसँगको कूटनीतिक सम्बन्ध कायम राख्न संवेदनशील सन्तुलन कायम गर्दै आएको छ ।

चीनले ताइवानलाई आफ्नो भूभाग दाबी गर्दै आएको छ र आवश्यक परे बल प्रयोग गर्ने सम्भावनालाई समेत नकारेको छैन । अमेरिकाको स्थापित नीति भने ताइवानको औपचारिक स्वतन्त्रतालाई समर्थन नगर्ने रहेको छ ।

फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले अमेरिकाले युद्ध नचाहेको स्पष्ट पारे । उनले “हामी युद्ध चाहँदैनौँ, चीन पनि शान्त रहोस् भन्ने चाहन्छौँ” भन्दै ताइवानको विषयलाई अहिलेकै अवस्थामा राख्नुपर्ने धारणा व्यक्त गरे ।

ट्रम्पका अनुसार ताइवानको विषयमा आफू र सीबीच विस्तृत छलफल भएको थियो । उनले सी जिनपिङ ताइवानको स्वतन्त्रता आन्दोलनप्रति “निकै संवेदनशील” रहेको बताए । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार सीले ताइवानको प्रश्नलाई चीन–अमेरिका सम्बन्धको सबैभन्दा संवेदनशील विषय भन्दै गलत रूपमा सम्हालिए दुई देशबीच टकराव हुन सक्ने चेतावनी दिएका थिए ।

हालैका वर्षहरूमा चीनले ताइवान वरिपरि सैन्य अभ्यास बढाउँदै आएको छ । यसले क्षेत्रीय तनाव थप बढाएको छ । गत वर्ष ट्रम्प प्रशासनले ताइवानलाई उन्नत रकेट लन्चर र विभिन्न क्षेप्यास्त्रसहित ११ अर्ब डलर बराबरको हतियार बिक्री गर्ने घोषणा गरेको थियो, जसको चीनले विरोध गरेको थियो ।

अमेरिकासँग ताइवानको औपचारिक कूटनीतिक सम्बन्ध छैन । यद्यपि दुवै पक्षबीच अनौपचारिक सम्बन्ध भने मजबुत रहँदै आएको छ । बेइजिङले ताइवानका राष्ट्रपति लाइ चिङ–तेलाई पृथकतावादी नेताको रूपमा हेर्दै आएको छ भने ताइवानले आफूलाई लोकतान्त्रिक र स्वतन्त्र शासन व्यवस्था भएको अलग पहिचानका रूपमा प्रस्तुत गर्दै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्