काठमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति पाण्डेलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको छ । न्यायाधीशद्वय सारंगा सुवेदी र शान्तिसिंह थापाको इजलासले कुनै एक वरिष्ठ अधिवक्ताको रोहवरमा पाण्डेलाई हाजिरी जमानीमा छाडी अनुसन्धान गर्न आदेश दिएको हो ।
अदालतले पाण्डेलाई मुलुक छाडेर विदेश जानुपर्ने अवस्थामा अदालतको अनुमति लिएर मात्रै जान पाउने व्यवस्था गर्न पनि निर्देशन दिएको छ । हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको भन्दै अदालतले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको हो ।पा ण्डेका पत्नी निरु दाहालले आफ्ना पति गैरकानुनी थुनामा रहेको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले स्मार्ट टेलिकमको सम्पत्ति लिलाम बिक्री प्रक्रियामा आपराधिक विश्वासघातलगायतका कसुर गरेको आरोपमा पाण्डेलाई पक्राउ गरेको थियो । पाण्डे पक्राउ परेपछि बैंक तथा वित्तीय संस्थाका विभिन्न संघ–संगठनहरूले राजनीतिक पूर्वाग्रहका आधारमा पक्राउ गरिएको भन्दै विरोध जनाएका थिए ।





