विपक्षी दलहरूको अवरोध, नाराबाजी र बहिष्कारबीच सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं – विपक्षी दलहरूको अवरोध, नाराबाजी र बहिष्कारबीच सरकारको नीति तथा कार्यक्रम संसदबाट बहुमतले पारित भएको छ । सरकारका तर्फबाट रामचन्द्र पौडेल ले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट हिजो बहुमतले पारित गरिएको हो । नीति तथा कार्यक्रममाथिको छलफलका लागि बुधबार संसदमा प्रस्ताव पेस गरिएको थियो ।

प्रधानमन्त्रीको उपस्थितिबिना नीति तथा कार्यक्रममाथि छलफल अगाडि बढाउन नहुने भन्दै प्रतिपक्षी दलहरूले बुधबार पटक–पटक सदन अवरुद्ध गरेका थिए । तर हिजो भने विपक्षी दलका सांसदहरूले छलफलमा भाग लिएका थिए । छलफलपछि नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीबाटै आउनुपर्ने माग गर्दै विपक्षी दलहरूले पुनः सदन अवरोध गरेका थिए । त्यसपछि सभामुख डोलप्रसाद अर्याल ले प्रतिपक्षी दलहरूको विरोध र बहिष्कारकै बीच प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्ले लाई जवाफ दिन समय दिएका थिए ।

त्यसपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बैठक बहिष्कार गरेका थिए भने नेपाली कांग्रेस का सांसदहरूले उठेर विरोध जनाएका थिए । विरोधकै बीच नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । नीति तथा कार्यक्रममाथि ३५ वटा संशोधन प्रस्ताव दर्ता भएका थिए । ती सबै प्रस्ताव बहुमतले अस्वीकृत भएका छन् ।

यस्तै राष्ट्रिय सभा ले पनि सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । राष्ट्रियसभामा कांग्रेस, एमाले तथा नेकपाका सांसदहरूले एकल तथा संयुक्त संशोधन प्रस्ताव दर्ता गराएका थिए । राष्ट्रियसभामा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधित्व नरहे पनि अन्य दलहरूको समर्थनमा सरकारको नीति तथा कार्यक्रम पारित भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्