पञ्जाब किंग्सको शानदार जित, मुम्बई लगातार चौथो पटक पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा हिजो भएको खेलमा पञ्जाबले १९६ रनको लक्ष्य १६ ओभर ३ बलमा ३ विकेट गुमाएर सहज रूपमा पूरा गरेको हो । पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाउँदै १९५ रन बनाएको थियो । मुम्बईका क्विन्टन डि ककले उत्कृष्ट प्रदर्शन गर्दै अविजित ११२ रन बनाए । उनले ६० बलमा ८ चौका र ६ छक्का प्रहार गर्दै टोलीलाई सम्मानजनक योगफलमा पुर्‍याएका थिए ।

जवाफी ब्याटिङमा पञ्जाबका ब्याटरहरू आक्रामक देखिए । प्रभसिम्रन सिंहले अविजित ८० रन बनाउँदै टोलीको जितमा महत्वपूर्ण भूमिका खेले । उनले ३९ बलमा ११ चौका र २ छक्का प्रहार गरे । बलिङतर्फ पञ्जाबका अर्शदीप सिंहले ३ विकेट लिँदै मुम्बईको सुरुवाती क्रमलाई दबाबमा पारेका थिए ।

यस जितसँगै पञ्जाब किंग्स अपराजित रहँदै अङ्क तालिकाको शीर्षस्थानमा पुगेको छ भने ५ खेल खेलेको मुम्बई इन्डियन्स लगातार चौथो हार बेहोर्दै २ अङ्कसहित नवौँ स्थानमा झरेको छ । आईपीएलअन्तर्गत आज बेलुकी पौने ८ बजे अहमदाबादमा गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्