काठमाडौँ – इन्धन संकटका कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै विभिन्न शैक्षिक संघसंस्थाहरूले विद्यालयहरूलाई शैक्षिक सत्र नियमित सञ्चालनका लागि आवश्यक तयारी गर्न शैक्षिक संगठनहरुले आग्रह गरेका छन्।
संयुक्त रूपमा जारी गरिएको परिपत्रमा नेपाल सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णयसँगै शैक्षिक सत्रको सुरुवातमा समेत हेरफेर गरेको सन्दर्भमा शिक्षा क्षेत्र प्रभावित नहोस् भन्ने उद्देश्यले सरोकारवालाहरूबीच छलफल भएको उल्लेख गरिएको छ। सो क्रममा शिक्षामन्त्रीसँग भएको भेटघाटमा वर्तमान शैक्षिक सत्र सञ्चालनसँग सम्बन्धित समसामयिक विषयमा सार्थक संवाद भएको र मन्त्रीले सरोकारवालाहरूको धारणा सकारात्मक रूपमा ग्रहण गरेको जनाइएको छ।
परिपत्रअनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन बमोजिम २०८३ सालको शैक्षिक सत्रका लागि वैशाख १५ गतेदेखि भर्ना प्रक्रिया र वैशाख २१ गतेदेखि नियमित कक्षा सञ्चालन गरिनेछ। यसबीच विद्यार्थीहरूको पठनपाठनमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले विद्यालयहरूले आन्तरिक समन्वय, तयारी र वैकल्पिक सिकाइका उपायहरू अपनाउनुपर्नेमा जोड दिइएको छ।
विद्यालयहरूले अभिभावकसँग निरन्तर संवाद कायम राख्दै विद्यार्थीलाई सिर्जनात्मक तथा व्यवहारिक गतिविधिमा संलग्न गराउने, आवश्यक परामर्श प्रदान गर्ने तथा सिकाइको वातावरणलाई सक्रिय राख्न विशेष ध्यान दिनुपर्ने उल्लेख गरिएको छ। साथै, शिक्षक तथा कर्मचारीका लागि अभिमुखीकरण, क्षमता विकास, शैक्षिक योजना निर्माण, सरसफाइ तथा भौतिक तयारीलगायत नयाँ शैक्षिक सत्रका पूर्वतयारी कार्यहरू प्रभावकारी रूपमा अघि बढाउन सुझाव दिइएको छ।
त्यस्तै, नेपाल सरकारको निर्णयलाई सम्मान गर्दै स्थानीय तहसँग समन्वय गरेर परिस्थिति अनुसार शैक्षिक गतिविधि सञ्चालन गर्न पनि आग्रह गरिएको छ। विद्यालयहरूको सक्रियता, सजगता र प्रतिबद्धताले विद्यार्थीहरूको सिकाइमा निरन्तरता कायम रहने विश्वास परिपत्रमा व्यक्त गरिएको छ। उक्त परिपत्रमा प्याब्सनका अध्यक्ष कृष्ण प्रसाद अधिकारी, एन–प्याब्सनका अध्यक्ष सुवास न्यौपाने, एपनका अध्यक्ष बद्री प्रसाद दाहाल र हिसानका अध्यक्ष युवराज शर्मालगायतका पदाधिकारीहरूले संयुक्त रूपमा परिपत्र गरेका छन् ।








