रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धको आधारभूमि र सहयोद्धाहरूलाई भुल्न नसकेर रुकुमपूर्व आएको बताएका छन्। २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मंगलबार उम्मेदवार मनोनयन दर्ता गराउन रुकुमपूर्व आइपुगेका प्रचण्डले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्।
“जनयुद्धको आधारभूमि र सहयोद्धालाई भुल्न नसकेर म यहाँ आएको हुँ। म एक्लै आएको होइन, यहाँका विपक्षी दलहरूले समेत विकासका लागि मलाई रुकुमपूर्व आउन अनुरोध गर्नुभयो,” प्रचण्डले भने। रुकुम ओर्लिएलगत्तै प्रचण्डले आफू बसेको ऐतिहासिक घर र २०६२ सालको चर्चित ‘चुन्वाङ बैठक’ लाई स्मरण गरे। शान्ति प्रक्रियासँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू यही केन्द्रबाट भएको उल्लेख गर्दै उनले यही क्षेत्रबाट चुनाव जितेर रुकुमपूर्वको समग्र विकास निर्माणलाई तीव्रता दिने दाबी गरे।
रुकुमपूर्व आइपुगेपछि प्रचण्ड चुनावी तयारीमा सक्रिय भएका छन्। उनले जिल्लाका शीर्ष नेता तथा कार्यकर्तासँग राजनीतिक छलफल र परामर्शलाई तीव्र बनाएका छन्। ३४ हजार ७७२ मतदाता रहेको रुकुमपूर्वमा २०७९ सालको निर्वाचनमा माओवादीकै उम्मेदवार निर्वाचित भएका थिए। त्यसबेला माओवादी कांग्रेससँगको गठबन्धनमा चुनावी प्रतिस्पर्धामा थियो।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रचण्डले नेकपा माओवादीको राजनीतिक आधारभूमि मानिने रुकुमपूर्वलाई रोजेका हुन्।
२०६४ र २०७० को संविधानसभा निर्वाचनसहित हरेक आम निर्वाचनमा उम्मेदवार बन्दै आएका प्रचण्डले फरक–फरक निर्वाचन क्षेत्रबाट चुनाव लड्ने परम्परा कायम गर्दै आएका छन्। यसअघि २०७९ को आम निर्वाचनमा उनी गोरखा–२ बाट निर्वाचित भएका थिए।





