काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तयारीमा रहेका वरिष्ठ नेता बामदेव गौतम अन्ततः चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन्। उनले यसपटक प्रतिनिधिसभा सदस्यको चुनाव नलड्ने निर्णय गरेको बताएका छन्। नेपाली कम्युनिस्ट पार्टीले बर्दिया निर्वाचन क्षेत्र नम्बर १ बाट विष्णु प्रसाद थारुलाई र बर्दिया–२ बाट सुरेश पन्तलाई उम्मेदवार बनाएको छ।
गौतमले आफू हरेक निर्वाचनमा जनताको मनसाय र भावना ख्याल गर्दै निर्णय लिने नेता भएको उल्लेख गर्दै यसपटक पनि जनताको सेन्टिमेन्टलाई सम्मान गर्दै आफू पछाडि हटेको बताए। प्रतिनिधिसभा चुनावको तयारीस्वरूप गौतमले यसअघि राष्ट्रिय सभा सदस्यको पदबाट राजीनामा दिएका थिए। २०७४ सालको निर्वाचनमा बर्दिया–१ बाट पराजित भएपछि उनी राष्ट्रिय सभामा गएका थिए, जहाँ उनको कार्यकाल आगामी फागुन २० गतेसम्म रहने थियो। तर प्रतिनिधिसभा चुनाव लड्ने उद्देश्यले उनले करिब डेढ महिना अगाडि नै राजीनामा दिएका थिए, यद्यपि अन्तिम समयमा चुनावी रेसबाट पछि हटेका हुन्।
७७ वर्षीय बामदेव गौतम बहुदलीय राजनीतिपछिका सदाबहार उम्मेदवारका रूपमा परिचित छन्। उनले २०४८ सालमा पहिलोपटक चुनाव जितेका थिए। २०५१ को मध्यावधि निर्वाचन जितेर २०५३ सालमा गृहमन्त्री बनेका गौतम २०५६ र २०६४ सालको निर्वाचनमा पराजित भएका थिए। २०७० सालमा भने उनले बर्दिया–१ र प्युठान–१ दुवै क्षेत्रबाट चुनाव जितेका थिए।
भविष्यको राजनीतिक योजनाबारे अहिले केही नबताउने भन्दै गौतमले यसपटक भने प्रतिनिधिसभा सदस्यको चुनाव कुनै पनि क्षेत्रबाट नलड्ने स्पष्ट पारेका छन्।






