दार्चुला – लेकम गाउँपालिका वडा नं. ६ तेलिगाउँमा रहेको श्री मालिकार्जुन माध्यमिक विद्यालयको ६५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस आज भव्य र उत्साहपूर्ण वातावरणमा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिनन्दन नाथको अध्यक्षतामा तथा लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माधवी जोशी, पूर्व गाउँपालिका उपाध्यक्ष परमानन्द जोशी, वडा नं. ६ का पूर्व वडा अध्यक्ष कमलापती मिश्र, विभिन्न जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । उपस्थित अतिथिहरूले विद्यालयको शैक्षिक यात्राको समीक्षा गर्दै आगामी दिनमा थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष रामदत्त जोशीले गत शैक्षिक सत्रदेखि विद्यालय समायोजनपछि नयाँ नेतृत्व आएसँगै विद्यालयको शैक्षिक, व्यवस्थापकीय तथा भौतिक पूर्वाधार विकासमा उल्लेखनीय सुधार हुँदै गएको उल्लेख गर्नुभयो । उहाँले प्रधानाध्यापक विजयराज मिश्रको नेतृत्व, शिक्षकहरूको लगनशीलता र अभिभावकको सक्रिय सहकार्यका कारण शिक्षाको गुणस्तर क्रमशः उकासिँदै गएको बताउनुभयो । अध्यक्ष जोशीले गुणस्तरीय शिक्षाका लागि गाउँपालिकाले आवश्यक सहयोग निरन्तर प्रदान गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक विजयराज मिश्रले कार्यक्रममा विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक उपलब्धि, सह–पाठ्यक्रम गतिविधि तथा भौतिक पूर्वाधार विकासका बारेमा जानकारी गराउनुभयो । साथै, उहाँले विद्यालयको आय–व्यय विवरण सार्वजनिक गर्दै पारदर्शिता र उत्तरदायित्वप्रति विद्यालय प्रशासन प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । प्रधानाध्यापक मिश्रले विद्यालयको समग्र सुधार, अनुशासन, प्रविधिमैत्री शिक्षण तथा विद्यार्थी केन्द्रित सिकाइ प्रणाली विकासका लागि निरन्तर प्रयास जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका सांस्कृतिक नृत्य, गीत, हाजिरीजवाफ तथा विभिन्न खेलकुद गतिविधिले उपस्थित दर्शकहरूको मन जितेको थियो । विद्यार्थीहरूको प्रतिभा, अनुशासन र सिर्जनशीलता झल्काउने यी प्रस्तुतीहरूले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो ।
यस अवसरमा शैक्षिक उपलब्धिमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी, समर्पित शिक्षक तथा विद्यालयको शैक्षिक र भौतिक विकासमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो । सम्मानित व्यक्तित्वहरूप्रति विद्यालय परिवारले आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोग र सहकार्यको अपेक्षा गरेको जनाएको छ ।
६५ वर्षे शैक्षिक यात्राको स्मरण गर्दै सम्पन्न भएको यस वार्षिकोत्सव तथा अभिभावक दिवसले विद्यालय र समुदायबीचको सम्बन्ध थप सुदृढ बनाउनुका साथै गुणस्तरीय शिक्षातर्फ सामूहिक प्रतिबद्धता जनाउने अवसर प्रदान गरेको सहभागीहरूको भनाइ रहेको छ ।






