आठौँ नेक्सस कप फुटबल प्रतियोगिता आजदेखि सुरु, २९ गतेसम्म जारी रहने

काठमाडौँ – आठौँ नेक्सस कप फुटबल प्रतियोगिता आजदेखि मध्यपुर थिमिमा भव्य रूपमा सुरु भएको छ। नेक्सस इन्टरनेशनल एकेडेमीको आयोजनामा मंसिर २१ देखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा देशभरका प्रतिष्ठित १६ विद्यालय–टिमको सहभागिता रहेको छ। उद्घाटन खेलसँगै प्रतियोगिताको औपचारिक सुरुवात भएको आयोजकले जनाएको छ। नेक्सस् एकेडेमीका संस्थापक प्रिन्सिपल आरबी कटवालको अध्यक्षता तथा प्याब्सन केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा आज समुद्घाटन गरिएको हो ।

संस्थापक प्रिन्सिपल आरबी कटवालले नेक्सस कप केवल फुटबल प्रतियोगिता मात्र होइन, विद्यार्थीको क्षमता, अनुशासन र आत्मविश्वासलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने हाम्रो प्रयास भएको बताउनुभयो । उहाँले भन्नुभयो “खेलकुदले विद्यार्थीलाई नेतृत्व, सहकार्य र लक्ष्यप्रति प्रतिवद्धता सिकाउँछ। यही उद्देश्य लिएर हामीले यो प्रतियोगिताको परम्परा निरन्तरता दिँदै आएका छौँ। देशभरका उत्कृष्ट विद्यालय–टिमहरूको सहभागिताले यस वर्षको नेक्सस कप अझ अर्थपूर्ण र प्रतिस्पर्धात्मक हुने विश्वास लिएको छु।”

प्याब्सन केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीले शिक्षाको प्रभावकारी विकासका लागि खेलकुद अपरिहार्य अंग भएको र नेक्सस कप जस्ता प्रतियोगिताहरूले विद्यार्थीको प्रतिभा उजागर गर्नुका साथै शिक्षा र खेलकुदलाई समानान्तर रूपमा अघि बढाउन प्रेरणा दिने बताउनुभयो । यस्ता कार्यक्रमले विद्यालय–स्तरको खेलकुद संस्कृतिलाई मजबुत बनाउँदै राष्ट्रका लागि सक्षम र अनुशासित खेलाडी तयार गर्ने आधार निर्माण गर्ने बताउनुभयो ।

मध्यपुर युथ एसोसिएशनको खेलमैदानमा हुने यस प्रतियोगिता फिफाको ‘लज अफ द गेम’ का आधारमा नकआउट प्रणालीमा खेलाइनेछ भने कक्षा ६ देखि ०९ सम्म अध्ययनरत र १६ वर्ष पूरा नभएका खेलाडी मात्र सहभागी हुन पाउनेछन्। विजेता टिमले ५० हजार रुपैयाँ, उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षक र फेयरप्ले टिमलाई पनि विशेष सम्मान प्रदान गरिनेछ। रेफ्री तथा निर्णायकहरूलाई प्रमाणपत्रद्वारा सम्मान गरिनेछ।

विद्यालय–स्तरको प्रमुख फुटबल प्रतियोगिता मानिँदै आएको नेक्सस कपले विद्यार्थीको शारीरिक, मानसिक तथा अनुशासनात्मक क्षमतावृद्धिमा उल्लेखनीय योगदान दिँदै आएको छ। यस वर्ष पनि उत्साहजनक उपस्थिति र प्रतिस्पर्धात्मक खेलसँगै प्रतियोगिता सफल हुने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्