दार्चुला – अपिहिमाल गाउँपालिकाको केन्द्र खण्डेश्वरीमा आइतबार अपिहिमाल र मार्मा गाउँपालिकाबीच अन्तरपालिका समन्वय बैठक सम्पन्न भएको छ। दुवै स्थानीय तहका प्रमुख, उपप्रमुख, जनप्रतिनिधि तथा शाखा प्रमुखहरूको सक्रिय सहभागितामा बैठक सम्पन्न भएको हो।
अपिहिमाल गाउँपालिका अध्यक्ष भक्तबहादुर सिंह ठेकरे बोहराको अध्यक्षतामा बसेको बैठकमा मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामी, अपिहिमालकी उपाध्यक्ष देवकी देवी बोहरा, मार्माकी उपाध्यक्ष शर्मिला चन्द सिंह, अपिहिमालका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र साउद, मार्माका योजना अधिकृत रमेशचन्द्र अवस्थीसहित अन्य प्रतिनिधिहरू सहभागी थिए।
बैठकले पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने, विटुले–पारीबगर–मकरीगाड–खण्डेश्वरी सडक निर्माणमा संयुक्त पहल गर्ने, चमेलिया नदी सफाइ अभियान सञ्चालन गर्ने, विपद् प्रतिकार्यमा समन्वयकारी तयारी गर्ने र अन्तरपालिकाबीच असल अभ्यास आदानप्रदान गर्ने निर्णय गरेको अध्यक्ष ठेकरेले जानकारी दिए।
दुवै गाउँपालिकाले सीमा क्षेत्रमा रहेको साझा समस्यालाई दीर्घकालीन सहकार्यमार्फत समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले विकास निर्माण तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने सहमति समेत जनाएका छन्।






