एशियाली शेयर बजारमा उछाल : अमेरिका–चीन व्यापार वार्तामा प्रगति

 

एशियाली शेयर बजारहरूमा आज उल्लेखनीय वृद्धि भएको छ। अमेरिका र चीनबीच व्यापार वार्तामा हासिल भएको प्रगतिप्रति लगानीकर्ताहरूले देखाएको उत्साहका कारण बजारमा सकारात्मक माहोल सिर्जना भएको हो।

सबैभन्दा ठूलो वृद्धि जापानको शेयर बजारमा देखिएको छ। ‘निक्केई’ सूचकाङ्क २ दशमलव ४६ प्रतिशतले बढेर पहिलो पटक ५० हजार अंक माथि पुगेको छ। त्यसैगरी दक्षिण कोरियाको ‘कोस्पी’ सूचकाङ्क पनि २ दशमलव ५७ प्रतिशतले उक्लँदै ऐतिहासिक रूपमा ४ हजार अंक पार गरेको छ।

हङकङ, चीन र सिङ्गापुरका बजारमा पनि सकारात्मक कारोबार देखिएको छ, भने इन्डोनेशिया र फिलिपिन्सका बजारमा सामान्य गिरावट आएको छ। विश्लेषकहरूले यस वृद्धिलाई विश्वका दुई ठूला अर्थतन्त्रबीचको व्यापार विवाद समाधान हुने संकेतका रूपमा लिएका छन्।

अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार, अमेरिका र चीनबीच व्यापार सम्झौतामा प्रारम्भिक सहमति भएसँगै लामो समयदेखि चलिरहेको व्यापार युद्ध अन्त्य हुने संकेत देखिएको छ। सम्झौताको अन्तिम रूप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हुने आगामी भेटमा तय हुने बताइएको छ।

ट्रम्पको एशिया भ्रमणकै क्रममा मलेशियामा दुवै देशबीच उक्त सम्झौता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्