दार्चुला- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लेकम गाउँपालिकाका विभिन्न वडाहरूमा पहिलो ऐतिहासिक वडा अधिवेशन सम्पन्न भएका छन्। अधिवेशनमार्फत वडा नं १ र वडा नं ६ का लागि नयाँ कार्यसमिति गठन गरिएको छ। वडा अधिवेशनमा पार्टीप्रति आस्था राख्ने स्थानीय कार्यकर्ता, आमा–बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। अधिवेशनमा सहभागीहरूले पारदर्शी सुशासन, नागरिकमुखी सेवा, जिम्मेवार नेतृत्व र नयाँ सोचका साथ गाउँको उज्ज्वल भविष्य निर्माण गर्ने संकल्प व्यक्त गरेका थिए।

लेकम गाउँपालिकाका सभापति महेश नाथ ले अधिवेशनमा उपस्थित सबैप्रति आभार व्यक्त गर्दै निर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई बधाई दिएका छन्। उनले भने, “तपाईंहरूको सहभागिता नै परिवर्तनको शक्ति हो। नयाँ सोच, नयाँ नेतृत्व र नयाँ यात्रासँगै लेकमको समृद्ध भविष्य हामी सबैको साझा अभियान हो।”

रास्वपा लेकम गाउँपालिकाको पहिलो पालिका अधिवेशन आगामी कार्तिक १ गते श्री लटिनाथ नमुना माध्यमिक विद्यालय, चन्दनपुर चौपातामा हुने तय गरिएको छ। उक्त अधिवेशनले गाउँपालिकास्तरमा संगठन सुदृढीकरण र भावी राजनीतिक दिशा तय गर्ने अपेक्षा गरिएको छ।
सभापति नाथले वडा अधिवेशनमार्फत चयन भएका सबै पदाधिकारीहरूको सक्रियता र प्रतिबद्धतामार्फत “जय घन्टी, जय लेकम” अभियानलाई नयाँ ऊर्जाका साथ अगाडि बढाउने विश्वास व्यक्त गरेका छन्।

वडा अधिवेशनबाट वडा नम्बर १ मा सुरेश सिँह विष्टको सभापतिमा समित चयन भएको छ भने वडा नम्बर २ मा नारद प्रसाद जोशी, वडा नम्बर ३ मा मनोज कुमार पन्त, वडा नम्बर ४ मा पशुपति गिरी, वडा नम्बर ५ मा उमेश विष्ट र वडा नम्बर ६ मा धिरेन्द्र सिँह धामीको सभापतिमा वडा समित चयन भएको लेकम सभापति महेश नाथले बताउनुभयो । यसैगरी वडामा ११ सदस्यी वडा कमिटी गठन गरिएको छ ।







