दार्चुला – विश्व खाद्य दिवसको अवसरमा नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र कृषि विभागले अपिहिमाल गाउँपालिकालाई सुदूरपश्चिम प्रदेशको उत्कृष्ट पालिकाको रूपमा सम्मान गरेको छ।
अपिहिमाल गाउँपालिकाले ‘अर्गानिक अपि’ नाराका साथ सञ्चालन गर्दै आएको विषादीरहित कृषि उत्पादन प्रवर्द्धन कार्यक्रमका कारण यो सम्मान पाएको हो। गाउँपालिकाले स्थानीय रैथाने उत्पादन — जौ, कोदो, फापर, चिनु, कागुनु, लसुन, आलु, मार्सी धान, मसला बाली तथा फलफूल खेतीमा अर्गानिक प्रणालीलाई प्राथमिकता दिँदै आएको छ। विशेष गरी अर्गानिक स्याउ र ओखर उत्पादनमा प्रोत्साहन दिंदै गाउँपालिकाले स्थानीय उत्पादनलाई बजार र पर्यटनसँग जोड्ने अभियान अघि सारेको छ।
गाउँपालिकाले २ स्थानमा कोषेलीघर स्थापना, जौको बिस्कुट र डालेचुक उत्पादन, साथै होमस्टे र पर्यटकीय क्षेत्रमा स्थानीय उत्पादनको प्रयोगलाई प्राथमिकता दिएको छ। त्यस्तै, थोपा, पाइप र कुलो सिँचाइ प्रणालीको विस्तारमार्फत स्थानीय कृषकलाई उत्पादन वृद्धिमा सहयोग पुर्याइएको गाउँपालिकाले जनाएको छ। यस उपलब्धिका लागि गाउँपालिकालाई प्रस्ताव गर्ने सुदूरपश्चिम प्रदेश कृषि मन्त्रालय, दार्चुला जिल्ला कृषि ज्ञान केन्द्र, र कार्यक्रम सञ्चालनमा सहकार्य गर्ने सबै निकायप्रति अपिहिमाल गाउँपालिकाले हार्दिक आभार प्रकट गरेको छ।
गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरेका अनुसार, “यो सम्मान अपिहिमालका जनप्रतिनिधि, कर्मचारी र कृषक सबैको सामूहिक मेहनतको प्रतिफल हो। यसले हामीलाई ‘अर्गानिक अपिहिमाल’ बनाउने अभियानलाई अझै सशक्त बनाउन प्रेरणा दिएको छ। साथै, यसले एग्रो टुरिजम प्रवर्द्धनमा पनि नयाँ हौसला प्रदान गरेको छ,” उनले बताए।






