काठमाडौँ — फिलिपिन्सको केन्द्रवर्ती क्षेत्र सेबु प्रान्तमा गएको ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा ६९ जनाले ज्यान गुमाएका छन्। गएराति स्थानीय समयअनुसार राति १० बजे गएको भूकम्पपछि ठूलो संख्यामा मानिस घाइते भएका छन्।
बीबीसीले सार्वजनिक गरेका तस्बिरहरूमा भत्किएका भवनहरू, चिरा परेका पुल र सडकहरू स्पष्ट देखिएका छन्। उद्धारकर्मीहरू भग्नावशेषमुनि जीवित मानिसको खोजीमा खटिएका छन्।
सरकारी निकायहरू प्रभावित क्षेत्रमा विद्युत्, सञ्चार सेवा पुनःस्थापना गर्न र राहत सामग्री पुर्याउन सक्रिय छन्।
भौगोलिक रूपमा अस्थिर मानिने फिलिपिन्स प्राकृतिक विपद्हरूका लागि अत्यन्त संवेदनशील मुलुक हो। यसअघि गएको हप्तामै दुईवटा आँधीबेहरी र अत्यधिक वर्षाका कारण आएको बाढीमा पनि दर्जनौं मानिसले ज्यान गुमाएका थिए।







