नेक्सस् कबड्डी कप २०८२ सम्पन्न, भिमेश्वर र प्यारागनले जिते उपाधि

काठमाडौं । राजधानीमा आयोजित “नेक्सस कबड्डी कप २०८२” को ग्राण्ड फिनाले उत्साहपूर्वक सम्पन्न भएको छ । नेक्सस इन्टरनेशनल एकेडेमीद्वारा आयोजना गरिएको यस प्रतियोगिताले छात्र र छात्रा दुबै समूहमा सहभागी विद्यालयहरूको प्रतिभा, खेलकुदप्रतिको जोश र खेलभावनालाई उजागर गरेको छ ।

यस प्रतियोगितामा विभिन्न विद्यालयका टोलीहरूले प्रारम्भिक चरणदेखि नै कठोर प्रतिस्पर्धा गर्दै फाइनलमा प्रवेश गरेका थिए । अन्तिम दिनको फाइनल खेलमा मैदान उत्साह, ताली र जयघोषले गुञ्जायमान बनेको थियो ।

छात्र तर्फ भिमेश्वर एकेडेमीले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्‍यो । त्यसैगरी, प्यारागन विद्यालय प्रथम उपविजेता बन्न सफल भयो भने बालसुधार र गणेश हिमाल विद्यालय संयुक्त रूपमा दोस्रो उपविजेता बने ।

छात्रा तर्फ प्यारागन विद्यालय विजेता बनेको छ । नेक्सस एकेडेमीले प्रथम उपविजेता उपाधि हात पार्‍यो भने चामुण्डा र भिमेश्वर विद्यालयले संयुक्त रूपमा दोस्रो उपविजेताको स्थान ओगट्न सफल भए ।

प्रतियोगिता अवलोकन गर्न आएका अभिभावक, शिक्षक र खेलप्रेमीहरूले विद्यार्थीहरूको जोश, आत्मविश्वास र अनुशासनको खुलेर प्रशंसा गरेका थिए । कबड्डी खेललाई विद्यालयस्तरमै लोकप्रिय बनाउन यस्ता प्रतियोगिताले ठूलो भूमिका खेल्ने आयोजकहरूको विश्वास छ ।

समापन समारोहमा आयोजक संस्थाले विजेता, उपविजेता र सहभागी टोलीलाई प्रमाणपत्र, ट्रफी र पदक प्रदान गर्‍यो । साथै, खेलकुदमार्फत विद्यार्थीको सर्वाङ्गीण विकास र टीमवर्कको महत्वबारे समेत जोड दिइयो ।

नेक्सस इन्टरनेशनल एकेडेमीका एचओडी प्रमुख कमल कटवालका अनुसार “नेक्सस कबड्डी कप” लाई प्रत्येक वर्ष निरन्तरता दिइनेछ र अझ बढी विद्यालयलाई सहभागितामा ल्याइने लक्ष्य रहेको छ ।

नेक्सस इन्टरनेशनल एकेडेमी काठमाडौं महानगरपालिका–३२, पेप्सीकोला टाउनप्लानिङमा अवस्थित एक प्रतिष्ठित शैक्षिक संस्था हो । शैक्षिक उत्कृष्टतासँगै खेलकुद र सह–पाठ्यक्रमगत क्रियाकलापलाई विशेष प्राथमिकता दिने यस विद्यालयले नेक्सस कप फुटबल, नेक्सस नृत्य प्रतियोगिता, कबड्डी कप लगायतका थुप्रै प्रतिस्पर्धात्मक तथा सांस्कृतिक कार्यक्रमहरू नियमित रूपमा आयोजना गर्दै आएको छ । यस्ता गतिविधिहरूले विद्यार्थीहरूको प्रतिभा निखार्न, खेलभावना विकास गर्न र सर्वाङ्गीण व्यक्तित्व निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्