नेरिक एकेडेमी र नेपाल मनोरञ्जन व्यवसायी प्रतिष्ठानको सहकार्यमा उपत्यकाव्यापी विद्यालयस्तरीय तीज नृत्य प्रतियोगिता हुने

काठमाडौं — सांस्कृतिक, धार्मिक र सामाजिक चेतनाको प्रवर्द्धन गर्ने उद्देश्यले नेरिक एकेडेमी, शंखमुल, काठमाडौं र नेपाल मनोरञ्जन व्यवसायी प्रतिष्ठानको सहकार्यमा ‘उपत्यकाव्यापी विद्यालयस्तरीय तीज नृत्य प्रतियोगिता–२०८२’ आयोजना हुने भएको छ। कार्यक्रम २०८२ साउन ३१ गते शनिबार बिहान १०:३० बजेबाट नेरिक एकेडेमीको प्राङ्गणमा सुरु हुने मंगलबार आयोजित पत्रकार सम्लेनमार्फत जानकारी दिएको छ ।

आयोजक संस्थाहरूका अनुसार, यो प्रतियोगिता विद्यालयस्तरका विद्यार्थीहरूलाई मौलिक संस्कार, राष्ट्रिय पहिचान र सृजनात्मक प्रतिभा प्रदर्शनका लागि विशेष मञ्च प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको हो। प्रतियोगितामा करिब ५० विद्यालयका ८०० भन्दा बढी विद्यार्थी कलाकारहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि नेपाली चलचित्र क्षेत्रकी वरिष्ठ अभिनेत्री भुवन चन्द्र रहनेछिन् भने विभिन्न हास्य कलाकार, सुप्रसिद्ध गायक–गायिका, लोकदोहोरी कलाकार, चलचित्रकर्मी, साहित्यकार, पत्रकार, संघ–संस्थाका पदाधिकारी र प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहनेछ।

प्रतियोगितामा सहभागी टोलीले मौलिक तीज गीतमा आधारित नृत्य प्रस्तुत गर्नुपर्नेछ, फ्युजन गीतलाई मान्यता दिइने छैन। प्रस्तुति अधिकतम ६ मिनेटमा सीमित हुनुपर्नेछ र समय नाघेमा अंक कटौती गरिनेछ। स्टेजमा अतिरिक्त सजावट वा गीतमा संवाद प्रयोग गर्न पाइने छैन। प्रत्येक समूहमा अधिकतम १६ र न्यूनतम १२ जना सदस्य रहनेछन्। टिम दर्ता शुल्क पाँच हजार रुपैयाँ तोकिएको छ, र विद्यालयमार्फत फाराम भरेर आगामी साउन ३० गते दिउँसो २ बजेभित्र बुझाउनुपर्ने स्कुलका प्रिन्सिपल मिलन कँडेल क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार विजेतालाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। पहिलो हुने टोलीलाई नगद २० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। दोस्रो पुरस्कारमा नगद १५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र, तेस्रो पुरस्कारमा नगद १० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र दिइनेछ। चौथो र पाँचौँ हुने टोलीलाई ५–५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिनेछ। त्यस्तै छैटौँ देखि दशाैँ टीमलाई ट्रफी र प्रमाणपत्र दिइनेछ भने उत्कृष्ट कोरियोग्राफी गर्ने टोलीलाई पाँच हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिनेछ। नगद पुरस्कारमा १५ प्रतिशत कर कट्टी गरिनेछ।

नेरिक एकेडेमीका प्रिन्सिपल क्षेत्रीले यो प्रतियोगिताले विद्यार्थीहरूको आत्मविश्वास, सांस्कृतिक चेतना र सामाजिक सहभागिता बढाउने विश्वास व्यक्त गर्दै भने, “मौलिक संस्कृतिप्रति गर्व गर्ने भावना जागृत गर्दै विद्यार्थीहरूलाई सृजनात्मकतामा प्रोत्साहित गर्नु हाम्रो मुख्य उद्देश्य हो।”

त्यसैगरी, नेपाल मनोरञ्जन व्यवसायी प्रतिष्ठानका सचिव अमृत खातीले भने, “हाम्रो मनोरञ्जन क्षेत्रमा सक्रिय कलाकार, सर्जक र व्यवसायीहरूको साथमा शैक्षिक संस्थाको सहकार्यमा यस्तो कार्यक्रम हुनु निकै सकारात्मक कुरा हो। यसले नयाँ पुस्तालाई मौलिक गीत–संगीत, पोशाक र परम्पराप्रतिको लगाव बढाउँछ। हामीले संरक्षण र प्रवर्द्धन गर्नुपर्ने संस्कृतिलाई विद्यालयस्तरमै जीवन्त रूपमा प्रस्तुत गर्नु समयको आवश्यकता हो।”

आयोजकको विश्वास छ, विद्यालयस्तरमै भव्य र व्यवस्थित रूपमा आयोजना हुने यो प्रतियोगिताबाट विद्यार्थी, शिक्षक, अभिभावक र समुदायमा सकारात्मक ऊर्जा पैदा हुनेछ। साथै, तीज पर्वलाई शिव–पार्वतीको दिव्य मिलनको प्रतीकका रूपमा प्रस्तुत गर्दै, यसलाई महिला सशक्तीकरण, पारिवारिक एकता, धार्मिक आस्था र सांस्कृतिक समृद्धिको सन्देश फैलाउने अवसरका रूपमा उपयोग गरिनेछ। हालका वर्षहरूमा देखिएको पाश्चात्य शैलीको गीत–नृत्यतर्फको आकर्षणलाई सन्तुलित गर्दै मौलिक गीत–संगीत र पोशाकलाई प्राथमिकता दिने यो प्रतियोगिता सांस्कृतिक संरक्षण र प्रवर्द्धनको महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्