काठमाडौँ– इजरायलले अब औपचारिक रूपमा गाजा सहरमाथि कब्जा गर्ने घोषणा गरेको छ । यसअघि गाजालाई ‘मानवरहित बनाउने’ चेतावनी दिँदै आएको इजरायलले शुक्रबार बिहान बसेको सुरक्षा क्याबिनेट बैठकबाट कब्जा–योजना स्वीकृत गरेको हो । त्यससँगै प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको कार्यालयले युद्ध अन्त्यका लागि पाँच बुँदे सिद्धान्त सार्वजनिक गरेको छ ।
यी पाँच बुँदा यसप्रकार छन् —
१. हमास समूहको निशस्त्रीकरण
२. मृत वा जीवित सबै बन्धकको फिर्ती
३. गाजा पट्टीको असैनिकीकरण
४. गाजा पट्टीमाथि इजरायली सुरक्षा बलको कब्जा
५. हमास वा प्यालेस्टिनी प्राधिकरण नभएको वैकल्पिक नागरिक सरकारको स्थापना
फक्स न्युजसँगको अन्तर्वार्तामा नेतान्याहुले गाजामाथि पूर्ण कब्जा अपरिहार्य भएको दाबी गर्दै भने, “हामी गाजाबाट हमासलाई हटाएर सुरक्षा सुनिश्चित गर्न चाहन्छौं । गाजालाई आतंकबाट मुक्त गर्न आवश्यक कदम चाल्नेछौं ।” उनले गाजाको प्रशासनिक जिम्मेवारी लिन चाहँदैनौं तर त्यहाँ वैकल्पिक नागरिक सरकारको स्थापना चाहन्छौं भनेका छन् ।
तर, इजरायलमै यस योजनाविरुद्ध विरोध भइरहेको छ । हालैको सर्वेक्षणमा धेरै इजरायलीले बन्धकको रिहाइका लागि हमाससँग सम्झौता गर्नुपर्ने बताएका छन् । राजधानी तेलअभिभमा नागरिकहरूले सरकारको योजनाविरुद्ध प्रदर्शनसमेत गरेका छन् । इजरायली सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जमिरले गाजामाथि कब्जा ‘पासोमा फस्ने’ खतरा भएको चेतावनी दिँदै यसले बन्धक र थकित सैनिकको जीवन जोखिममा पार्ने बताएका छन् ।
करिब ३६५ वर्गकिलोमिटर क्षेत्रफलको गाजामा झन्डै २१ लाख मानिस बसोबास गर्छन्, जुन नेपालकै ललितपुर जिल्लाको आकार बराबर हो । ७ अक्टोबर २०२३ मा हमासले इजरायली भूमिमा आक्रमण गरेपछि करिब दुई वर्षदेखि इजरायलले लगातार गाजामा आक्रमण गर्दै आएको छ । युद्ध सुरु भएयता प्यालेस्टाइनमा ६१ हजारभन्दा बढी मानिस मारिएका छन्, जसमा अधिकांश महिला र बालबालिका छन् । इजरायलतर्फ हमासको आक्रमणमा करिब १,२०० जनाले ज्यान गुमाएका छन् ।







