दार्चुला – सामाजिक सम्पत्तिको रूपमा रहेका स्थानीय भाषा, संस्कार, संस्कृति र परम्पराको संरक्षण तथा जगेर्नाका लागि दार्चुलाको अपिहिमाल गाउँपालिकाले ‘मल्देशी लोक संस्कृतिको सङ्गालो’ नामक पुस्तक प्रकाशित गरेको छ। पुस्तकको आइतबार खण्डेश्वरीस्थित गाउँपालिका कार्यालयमा एक विशेष समारोहका बीच गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहरा र उपाध्यक्ष देवकीदेवी बोहराले संयुक्त रूपमा विमोचन गर्नुभयो।
उक्त पुस्तक मल्देश भाषा तथा संस्कृति उत्थान समाजले अपिहिमाल गाउँपालिकाको आर्थिक सहयोगमा तयार पारेको हो। समाजका अध्यक्ष लक्ष्मणसिंह बोहराका अनुसार, पुस्तकमा मल्देशी समुदायमा प्रचलित लोकसंस्कृति, रीतिरिवाज, भेषभूषा, लोकगाथा, जात्रा, पर्व, उत्सव र मौखिक परम्परामा आधारित समृद्ध सांस्कृतिक पक्षहरू समेटिएका छन्।
गाउँपालिका अध्यक्ष ठेकरे बोहराले स्थानीय तहको तर्फबाट भाषा, कला र संस्कृतिको संरक्षणमा विशेष प्राथमिकता दिइएको उल्लेख गर्दै भन्नुभयो, “स्थानीय सरकारले बजेट विनियोजन गरेर समुदायको मौलिक पहिचान जोगाउने काममा निरन्तर लागिरहेको छ।” उहाँले यस पुस्तकलाई समुदायको सांस्कृतिक सम्पदा जोगाउने महत्त्वपूर्ण कडीका रूपमा मूल्याङ्कन गर्नुभयो।
यसअघि समाजले मल्देश क्षेत्रमा बोलिने एकमात्र क्षेत्तेली भाषाको व्याकरण र शब्दसङ्ग्रह समेटिएको पुस्तक प्रकाशन गरिसकेको छ। यो पुस्तकले पनि जनस्तरमा भाषा र संस्कृति जोगाउन सहयोग गरेको समाजको भनाइ छ।
सङ्ग्रहमा चैत, उचेडा, ढुस्को, भल्लाउलो, जगरम, हात्ताजोडी, धारुगीत, फाग जस्ता लोकगाथा र गीत–विधाहरू, साथै विष निकाल्ने, भुइँचालो थाम्ने, भूत भगाउने, चोर बाँध्ने मन्त्रहरू, र सात दिनसम्म मनाइने सुर्माभवानी जात्राको वर्णन गरिएको छ। पुस्तकका संकलनकर्ता लक्ष्मणसिंह बोहरा र कुमारी निर्मला बोहरा हुन्, र प्रारम्भिक रूपमा ५०१ प्रति प्रकाशन गरिएको छ।
अध्यक्ष बोहराले स्थानीय संस्कृतिहरू आधुनिक प्रविधिको चपेटामा परेर ओझेलमा पर्न थालेको उल्लेख गर्दै, मौलिक ज्ञान र परम्परालाई पुस्तान्तरणका लागि लिपिबद्ध गर्नु अत्यावश्यक भएको बताउनुभयो। समाजले आगामी दिनमा पनि अनुसन्धान, अभिलेखन र प्रकाशन कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।






