शुक्लाफाँटा-८ द्वारा क्रिकेट खेलाडीलाई खेल सामग्री हस्तान्तरण

झलारी – शुक्लाफाँटा नगरपालिका–८ को वडा कार्यालयले खेलाडीहरूलाई प्रोत्साहन गर्न रु ५० हजार बराबरका क्रिकेट सामग्री हस्तान्तरण गरेको छ। वडा अध्यक्ष बहादुर सिंह महराले विशेष समारोहबीच क्रिकेट खेलाडी रविना धामीलाई खेल सामग्री प्रदान गरेका हुन्।

वडा अध्यक्ष महराले आर्थिक अभावका कारण खेलाडीहरू अवसरबाट बञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको बताए। उनले ग्रामीण क्षेत्रका खेलाडीहरू सीमित स्रोतसाधनबीच पनि उत्कृष्ट प्रदर्शन गरिरहेको उल्लेख गर्दै खेलकुदका लागि उचित वातावरण आवश्यक रहेको बताए।

वडा सचिव गोकर्णप्रसाद जोशीका अनुसार खेलाडी धामीलाई प्याड निलो, थाई प्याड, ग्लोब्स, लेदर ब्याट, क्रिकेट सुज, किट ब्याग लगायतका सामग्री प्रदान गरिएको छ। सामग्री प्राप्त गरेपछि खेलाडी धामीले खुसी व्यक्त गर्दै अब अभ्यास गर्न सहज हुने बताइन्।

यसअघि पनि वडा कार्यालयले वडाका अन्य खेलाडीहरूलाई रु ३५ हजार बराबरका क्रिकेट सामग्री प्रदान गरिसकेको छ। खेलकुदको प्रवर्द्धनमार्फत युवालाई सकारात्मक क्रियाकलापमा संलग्न गराउन वडा कार्यालय सफल भइरहेको स्थानीयको प्रतिक्रिया छ । खेलकुदका कारण लागुपदार्थको कुलतमा फस्ने युवाको संख्या घट्दै गएको जानकारी गराउँदै खेल क्षेत्रमा स्थानीय खेलाडीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुगेको वडा कार्यालयले जनाएको छ ।

वडा कार्यालयको यस्तो पहलले खेलाडीहरूलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्