काठमाडाैँ – नेशनल प्याब्सन काठमाडाैँ जिल्ला समितिले २७ औँ स्थापना दिवस भव्यताका साथ सम्पन्न गरेको छ । शनिवार काठमाडाैँको पुरानो बानेश्वर स्थित सिद्धार्थ फुड्ल्याण्डमा नेशनल प्याब्सन काठमाडाैँका अध्यक्ष अमृत कुमार खड्काको सभापतित्व तथा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माको प्रमुख आतिथ्यतामा स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गर्नुभयो । उहाँले विद्यालय सामुदायिक तथा संस्थागत हुने भएपनि विद्यार्थी सामुदायिक र निजी नहुने भएकोले सरकारले एउटै नजरले हेर्नुपर्ने धारणा राखेका थिए । निजी विद्यालयको लगानी फिर्ता गरि राष्ट्रियकरण गर्ने सक्ने अवस्थामा सरकार समेत नभएको प्रष्ट पार्नुभयो । निजी विद्यालयले आफ्नो क्षमता देखाएर विद्यार्थीको आकर्षण बढाएकोले आफ्ना बालबालिकाको लागि विद्यालय छनोट गर्दा निजी रोज्ने कि सामुदायिक रोज्ने त्यो अभिभावकको भएकोले सामुदायिक मात्रै रोज्नुपर्ने भन्ने कुरा उपयुक्त नहुने समेत राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माले बताउनुभयो ।
निजी विद्यालयले कक्षा १० र १२ का विद्यार्थीको नतिजामा गरेको सुधार प्रशंसनीय रहेकोले घोकेर उत्तर लेख्ने भन्दा पनि व्यवहारिक उत्तर दिने वानीको विकास भएको बताउनुभयो । विद्यालयसँग अभिवाकको सक्रियता भएको विद्यालयले राम्रो नतिजा ल्याएकोले अभिभावकको सक्रियता बढाउनुपर्ने आजको आवश्यकता भएको समेत उहाँले औल्याउनुभयो । बढ्दो प्रविधिमा च्याटजिपीटी जस्ता प्रविधिमा विद्यार्थी लाग्नबाट पनि जोगााउनुपर्ने र निजी र सामुदायिक भन्नुभन्दापनि बालबालिकामा गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिन समेत अध्यक्ष शर्माले आग्रह गर्नुभयो ।
कार्यक्रममा नेशनल प्याब्सन काठमाडाैँ जिल्ला अन्तर्गतका विभिन्न नगर अध्यक्षहरुले समेत आ–आफ्नो धारणा राखेका थिए । यसैगरी कार्यक्रममा बोल्दै नेशनल प्याब्सन केन्द्रीय समिति उपमहासचिव प्रकाश खड्काले संगठन माथि केहि अराजक तत्व लागिपरेकोले यसतर्फ सजक हुनुपर्ने धारणा राख्नुभयो । उहाँले संगठनले एक भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको समेत प्रष्ट पार्नुभयो ।
यसैगरी नेशनल प्याब्सन केन्द्रीय अध्यक्ष सुवासचन्द्र न्यौपानेले ७० प्रतिशत विद्यार्थी सामुदायिक तथा ३० प्रतिशत विद्यार्थी संस्थागत विद्यालयमा अध्ययन गरिरहेकोले निजी तथा सामुदायिक भन्नुभन्दा पनि शैक्षिक उन्नतीमा जोड दिनुभयो । यस्तै संगठनभित्र केहि समस्या देखिएपनि यसलाइ सुधार गर्न, व्यवस्थित गर्न सकारात्मक सोचका साथ सबै पदाधिकारी सक्रिय हुनुपर्ने बताउनुभयो ।
कार्यक्रम समापन समारोहमा आफ्नो धारणा राख्दै नेशनल प्याब्सन काठमाडाैँ जिल्ला अध्यक्ष अमृत कुमार खड्काले संस्थागत विद्यालयको हक हितका लागि आफुहरु सधै अग्रपंक्तिमा रहेको बताउनुभयो । यसैगरी उहाँले पोखरामा माघ २ र ३ गते हुने बृहत विस्तारित बैठकमा सहभागी हुन आग्रह गर्नुभयो । साथै सामाजिक रुपान्तरणको लागि निजी विद्यालयको भूमिका, निजी विद्यालय सञ्चालनमा आउने समस्या तथा यसको निराकणको लागि केन्द्र, जिल्ला र पालिकाको सहभागितामा महत्वपूर्ण विचारहरु आउने भएकाले उपस्थिति जनाइदिनुहुन अनुरोध गर्नुभयो ।