नेकपाभित्रको आन्तरिक विवाद मिलाउन ओली र नेपालबीच भेटवार्ता

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक राजनीति पेचिलो बनिरहेका बेला दुई शीर्ष नेताबीच भेटवार्ता भएको छ ।

सोमबार बिहान अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बालुवाटारमा भेटवार्ता भएको हो ।

दुई नेताबीच झण्डै एक घण्टाको भेटवार्तामा पार्टीमा देखिएकोे असन्तुष्टिलाई कसरी सम्बोधन गर्ने भन्नेमा केन्द्रीत रहेको नेता नेपाल निकट स्रोतले जनाएको छ ।

सरकारले राजनीतिक दल फुटाउन खुकुलो प्रावधानसहित दुई वटा अध्यादेश ल्याएपछि नेकपाभित्रको कलह सतहमा आएको थियो । सरकार मनमौजी ढंगले चलेको, सरकारले पार्टीका निर्देशन, विधि र पद्धतिको वेवास्ता गरेको भन्दै पार्टीमा चर्को असन्तुटि देखिएका बेला नेता नेपाल र ओलीबीच छलफल भएको हो ।

सरकारले गत साता दुई अध्यादेश पार्टीमा छलफल नै नगरी ल्याएको भन्दै सचिवालयका ९ मध्ये ६ जना सदस्यले फिर्ता लिन दवाव दिएका थिए । उक्त दवावपछि सरकारले अध्यादेश फिर्ता लिएपनि नेकपाभित्रको आन्तरिक राजनीतिमा आएको तरंग सकिएको छैन ।

अध्यादेशपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेता नेपाल एक खेमामा उभिएका छन् भने ओली पक्ष अर्को समूहमा धु्रवीकृत भएको छ । यसै क्रममा प्रचण्ड र नेपाल समूहका २० जना स्थायी समिति सदस्यहरुले तत्काल बैठक बोलाउन लिखित माग नै गरेपछि बैठक बोलाउने या नबोलाउने भन्नेमा मत बाझिएको छ ।

प्रचण्ड र नेपाललाई उनीहरु निकटका सदस्यले बैठकका लागि निरन्तर दवाव दिइरहेका छन् । तर ओली यतिबेला बैठक बोलाउँदा आफूले विरोधको सामना गर्नुपर्ने भएकाले टार्ने योजनामा छन् ।

अध्यादेश प्रकरणमा प्रचण्ड र नेपालसमूह एकातर्फ लागेपछि आफूलाई सरकारबाट हटाएर अघि जान लागेको भन्दै प्रधानमन्त्री ओलीले मिलेर अघि बढ्नु पर्ने सन्देश आफ्ना दुतहरुमार्फत प्रचण्ड र नेपाललाई पठाउने गरेका छन् । तर, प्रचण्ड र नेपाल समूह अति भएको भन्दै पटकपटकका प्रतिवद्धताहरु उलंघन गरेकाले मिल्न सक्ने अवस्थामा नरहेको निष्कर्षमा पुगेका छन् ।

नेपाल निकट एक स्थायी समिति सदस्य भन्छन्, ‘कसरी मिल्नु ? मिल्ने ठाउ भए पो मिल्नु । सवै कुरा पेलेर गर्ने, पार्टी विधान पद्धति सवै कुल्चने अनि मिलौं भनेर हुन्छ ?’, उनको प्रश्न छ ।

गत शनिबार नेता नेपाल, अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बामदेव गौतमसँगको भेटमा प्रधानमन्त्री समेत रहेका ओलीले सचिवालय बैठकले स्थायी समिति बैठकको मिति तय गर्नसक्ने बताएपनि सचिवालय बैठक नै बस्न सकेको छैन ।

सचिवालय बैठक टार्नका लागि ओलीले आइतबार मात्रै स्थायी समिति सदस्य तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र मन्त्री युवराज ज्ञवालीलाई प्रचण्ड र नेपाललाई भेट्न पठाएका थिए ।
नेताहरुले उनीहरुलाई बैठक कुनै हालतमा टार्न नसकिने जवाफ दिएका थिए । आइतबारै प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र नेता माधवकुमार नेपालले क्रमश, बालुवाटार, खुमलटार र कोटेश्वरमा छलफल गरेका थिए ।

बालुवाटारमा भएको ओली निकटको छलफलले अध्यक्ष प्रचण्ड र माधव नेपालले काँग्रेस र राप्रपाका नेताहरुसँग मिलेर सरकारलाई अप्ठेरोमा पार्ने षड्यन्त्र गरेको निष्कर्ष निकालेको थियो ।

यद्यपि नेताहरु अहिले पनि आन्तरिक छलफलमा व्यस्त नै छन् । नेकपा स्थायी कमिटी सदस्य डा बेदुराम भुसालले पार्टी्भित्र छलफल चलिरहेको भन्दै पार्टीको बैठक लगायतका विषयमा छिट्टै ठोस निष्कर्ष निक्लने विश्वास व्यक्त गरे । रातोपाटीबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्