कोरोनाबाट विश्वका विभिन्न देशमा ५० जना नेपालीकाे मृत्यु, १९ सय ८३ संक्रमित

काठमाडौं – विश्वभर फैलिएको कोभिड १९ को महामारीबाट विश्वका विभिन्न मुलुकमा बसोवास गरिरहेका ५० जना नेपालीहरुको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार आइतबारसम्म विश्वभर १ हजार ९ सय ८३ गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।

विदेशमा कोरोना संक्रमण भएका गैरआवासीय नेपालीमध्ये ४ सय ३४ जना कोरोनामुक्त भएको बताइएको छ । बेलायतमा ३४, अमेरिकामा १०, संयुक्त अरब इमिरेट्समा २ तथा आयरल्याण्ड, जापान, टर्की र नेदरल्याण्डसमा १ र १ जनाको निधन भएको हो । विश्वका २४ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित रहेको बताईएको छ ।

संक्रमित हुने नेपालीमा अमेरिका एक हजार, बेलायत सात सय, संयुक्त अरब इमिरेट्स ८१, बहराइन ४९, कुवेत ४२, पोर्तुगल २७, आयरल्याण्ड २२, स्पेन १२, अष्ट्रेलिया ११, बेल्जियम छ, स्वीजरल्याण्ड पाँच ,साउदी अरब र जर्मनीमा चारचार, मलेशिया, क्यानडा, न्युजिल्याण्ड र साइप्रस तीन र तीन, जापान, हङकंङ र माल्टा दुई र दुई तथा फ्रान्समा एक जना रहेको समितिले जनाएको छ ।

नेपाली दूताबास, संघका शाखाहरु, विभिन्न संघसंस्थाहरुको सहयोगमा गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले संकलन गरेको आधारमा यो तथ्याङक सार्वजनिक गरिएको हो । कोरोना भाईरस संक्रमण फैलिएपछि खासगरी विभिन्न देशमा रहेका नेपाली विद्यार्थीहरु, अवैधानिक रुपमा बसिरहेकाहरु, कम्पनि बन्द भएर रोजगार गुमाएकाहरु तथा भ्रमण भिसामा गएकाहरु समस्यामा परेको जानकारीमा आएको गैरआवासिय नेपाली संघका महासचिव हेमराज शर्माले बताउनुभएको छ ।

४१ देशमा रहेका नौ सय स्वयंसेवक परिचालन गरिएको र करीब ३० हजार गैरआवासीय नेपालीले प्रत्यक्ष अप्रत्यक्ष रुपमा राहत प्राप्त गरेको संघले जनाएको छ । तर राहत कसरी सम्बन्धित ठाउसम्म पूर्याउने भन्ने चुनौती रहेको महासचिव शर्माको भनाई छ ।

गैरआवासीय नेपाली चिकित्सकहरुले पनि नेपाली भाषामा सतर्कताका उपायहरु जानकारी गराईरहनुभएको संघले जनाएको छ । –NTV

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्