अनलाईन र भर्चुअल विधिबाट विद्यार्थीहरुलाई पढाउन शुरु

काठमाडाैँ – कोरोना भाइरसका कारण मुलुक लकडाउनको अवस्थामा रहेको बेलामा शिक्षण संस्थाहरुले अनलाईन र भर्चुअल विधिबाट विद्यार्थीहरुलाई पढाउन शुरु गरेका छन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पनि भर्चुअल कक्षा मार्फत् पठन पाठनको कामलाई सुचारु गर्ने सम्बन्धमा विभिन्न निर्देशनहरु दिन थालेको छ ।

कोरोनाको महामारी र अकडाउन जारी रहेकै अवस्थामा शैक्षिकसत्र कहिलेबाट शुरु हुने र कहिलेदेखि नियमित कक्षा सञ्चालन हुने निश्चित नभएपछि विद्यालयहरुले भर्चुअल कक्षा शुरु गरेका हुन् । कोरोना संक्रमणका कारण चैत ५ गते नै बार्षिक परीक्षा सकेर विदा दिएका विद्यालयहरुले अहिले सम्म पनि नयाँ शैक्षिक सत्र शुरु गरेका छैनन् । शुरुका  दिनहरुमा मोवाइल एपबाटै कार्यहरु दिएर विद्यार्थीलाई ‘इन्गेज’ गराएका विद्यालयहरुले अहिले भने भर्चुअल कक्षा नै सञ्चालन गरेका हुन् ।

तर भर्चुअल र अनलाईन कक्षा सञ्चालन गर्ने सार्वजनिक शिक्षण संस्थाका प्रमुखहरु भने विद्यार्थीको सहभागिता कम रहेको बताउँछन् ।

इन्टरनेटको कमजोर ब्याण्डविथसंगै आवश्यक अन्य भौतिक पूर्वाधारको कमी तथा विद्यार्थी र शिक्षकहरु प्रविधिप्रति सचेत नभएका कारण पनि अनलाईन शिक्षा प्रभावकारी नभएको अनुभव उनीहरुकाे छ ।

१ महिना अघीदेखि एमबीएसको पहिलो सेमेष्टरतहमा अनलाई कक्षा सञ्चालन गरेको पब्लीक युथ क्याम्पसले करिब ४५ प्रतिशत विद्यार्थी मात्र अनलाईनमा जोडिएको जनाएको छ । यसैगरि बीबीएसको पहिलो र दोस्रो बर्षमा अध्ययनरत २ हजार भन्दा बढी विद्यार्थी मध्ये १ सय विद्यार्थी पनि अनलाईनमा नजोडिएको क्याम्पस प्रमुख बलराम थापा बताउँछन् ।

यसैगरि विश्व निकेतन माध्यमिक विद्यालयले विज्ञान विषयमा कक्षा ११ र १२ का लागि अनलाईन प्रविधिबाट कक्षा सञ्चालन गरेकोमा करिब २५ प्रतिशत विद्यार्थी मात्र जोडिएका छन् ।

करिब ६० प्रतिशत शिक्षकहरु मात्र प्रविधिको प्रयोग गर्नकालागि उत्सुक भएको अवस्थामा अनलाईन प्रविधिको उपयोगका सम्बन्धमा थप काम गर्नुपर्ने प्रधानाध्यापक हेरम्बराज कँडेल बताउँछन् ।

कक्षाकोठामा पढ्दै र पढाउँदै आएका विद्यार्थी र शिक्षकहरुलाई अब अनलाईन प्रविधिको उपयोगमा उत्साहित गर्न त्यसबारेमा जानकारी दिनुपर्ने आवश्यकता छ । यसैगरि इन्टरनेटको सहज र सुलभ पहुँच तथा उपयुक्त पाठ्यसामग्रीको निर्माणले मात्र आगामी दिनमा अनलाईन मार्फत् गरिने पठन पाठनलाई प्रभावकारी बनाउन सकिने देखिन्छ । – NTV

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्