सबै पालिकाहरुमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली परिचालन

काठमाडौं – कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले सबै पालिकाहरुमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । जनस्वास्थ्य अधिकृत, प्रयोगशालाका कर्मचारी र प्यारामेडिक्स वा नर्स एक–एक जना रहेको टोली परिचालन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाका अनुसार हरेक गाउँपालिकामा एउटा, नगरपालिकामा २ वटा, उपमहानगरपालिकामा ३ वटा र महानगरपालिकामा ५ वटाको दरले टोली परिचालित हुनेछन् । उनीहरुले कोराना शंकास्पद व्यक्ति र उनीहरुको निकट सम्पर्कमा रहेका व्यक्ति पत्ता लगाएर स्वास्थ्य परीक्षण गर्नेछन् ।

डा. देवकोटाले भने, ‘कोभिड १९ को संक्रमणको रोकथाम र नियन्त्रणमा सहजीकरण गर्ने उद्देश्यले उहाँहरु त्यहाँ परिचालन हुनुहुनेछ ।’

यो समूहमा स्थानीय तहमा उपलब्ध स्वास्थ्यकर्मीलाई पहिले पठाइने छ । जनशक्ति अपुग भएमा मात्र जिल्ला स्वास्थ्य कार्यालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा माग गर्न सकिने डा. देवकोटाले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्