माघदेखि हिमपहिरोमा बेपत्ता भएका २ जनाको शव भेटियो, ५ जना अझै बेपात्ता

काठमाडौँ – अन्नपूर्ण आधार शिविर पदयात्रामा गत माघ ३ गतेदेखि हराएका दुई नेपालीको शव फेला परेको छ ।

काठमाडौंस्थित पिक गाइड नेपालमार्फत ४ जना कोरियाली पर्यटक लिएर अन्नपूर्ण आधार शिविर गएका पर्यटक सहयोगी ५१ वर्षीय मेमबहादुर तामाङको शव फेला बुधबार फेला परेको हो । उनी धादिङको गंगाजमुना गाउँपालिका–११ का बासिन्दा हुन् ।
बिहीबार उनको शव नेपाली सेनाको हेलिकप्टरले पोखरा ल्याएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टमका लागि शव लगिएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले बताए । पोष्टमार्टम पश्चात मृतकका परिवारलाई पोखरामै शव बुझाउने उनले बताए ।

स्थानीवासी, पर्यटक प्रहरी र नेपाल प्रहरीले गरेको खोजीमा उनको शव फेला परेको अन्नपूर्ण ११ का वडाध्यक्ष हिमबहादुर गुरूङले जानकारी दिए । उनका अनुसार खोजीका क्रममा ३ वटा झोलासमेत फेला परेका छन्। तामाङ र अर्का पर्यटक सहयोगी छिरिङ भोटे ९ जना पर्यटक लिएर अन्नपूर्ण आधार शिविर गएका थिए ।

जसमध्ये ५ जना कोरियनले हिमपहिरोबाट ज्यान जोगाउन सफल भएका थिए ।

उक्त समूहका नेपाली पर्यटक सहयोगी छिरिङ अहिले पनि बेपत्ता छन् । उनीहरूसँगै बेपत्ता हुने कोरियाली पर्यटकहरूमा लि मिन सु, जोङपिल बोङ, किम सोक जा र चोइ जो वोन रहेका छन् ।

सोही समूहसँगै हिमपहिरोमा परेका चिनियाँ पर्यटकका नेपाली गाइड सरोज नेपालीको भने यसअघि नै शव फेला परिसकेको छ । उनको गत चैतमा शव फेला परेको थियो ।

अन्नपूर्ण आधार शिविर पदमार्गको हिँकु केभनजिकै अन्नपूर्ण दक्षिण हिमालबाट झरेको हिमपहिरो र आँधीमा परेर उनीहरू हराएका थिए । हिमपहिरोमा हराइरहेका पर्यटक तथा उनीहरूका सहयोगीको खोजी भइरहेको वडाध्यक्ष गुरूङले बताए ।
सेतोपाटीबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्