सरकारले जहाज चार्टर गरेर ३३ जना चिकित्सक सुदूरपश्चिम पठायो

काठमाडौँ – सरकारले कोरोनाभाइरस रोकथाम र नियन्त्रणमा खटिने ३३ जना आवसीय चिकित्सकलाई जहाज चार्टर्ड गरेर सुदूरपश्चिम पठाएको छ ।

शुक्रबार यति एयरको जहाज चार्टर्ड गरेर स्वास्थ्य मन्त्रालयले चिकित्सकलाई धनगढी पठाएको हो ।

मन्त्रालयका सल्लाहकार डा. खेम कार्कीले सरकारी छात्रवृत्तिमा बढिरहेका आवसीय चिकित्सकलाई सुदूरपश्चिमका विभिन्न ठाउँमा खटिनको लागि पठाइएको बताए । ’उहाँहरू सबै एमडिएमएस दोस्रो वर्षका विद्यार्थी हुनुहुन्छ,’ उनले भने ।

अहिले एमडिएमएस गर्ने सबैलाई सरकारले छात्रवृत्तिमा पढाउँछ । सरकारले यसअघि नै छात्रवृत्तिमा पढेका स्वास्थ्यकर्मीलाई कोरोना उपचार र रोकथाममा खटाउने निर्णय गरेको थियो ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले ३३ जनामध्ये १३ जना चिकित्सकलाई सेती प्रादेशिक अस्पताल र बाँकीलाई प्रदेशका अन्य जिल्लामा खटाइने जानकारी दिए ।

मन्त्री सुवेदीले अछाम, बैतडी, डडेलधुरा र दार्चुलामा तीन÷तीन जना र कैलालीको टीकापुर र बझाङ जिल्ला अस्पतालमा दुई÷दुई जना चिकित्सक पठाइने बताए । चार जना चिकित्सकलाई भने कञ्चनपुरको महेन्द्रनगर खटाउने प्रदेशको तयारी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्