कोरोनाबाट विदेशमा रहेका १४ नेपालीको मृत्यु, झण्डै २ सय जना संक्रमित

काठमाडौँ – कोरोना भइरसबाट हालसम्म विदेशमा १४ जना नेपालीको मृत्यु भएको छ । त्यस्तै विभिन्न मुलुकमा झन्डै दुई सय जना नेपाली नागरिक कोरोना भाइरसबाट सङ्क्रमित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अमेरिका र बेलायतमा बढी प्रभावित
बेलायतमा आठ जना नेपाली नागरिकको मृत्यु भएको छ । तीमध्ये सात जनाको कोरोनाबाट पुष्टि भएको छ भने एक जनाको पुष्टि हुन बाँकी छ । त्यहाँ ३५ जना सङ्क्रमित छन् । अन्य ३० जना क्वारेन्टाइनमा छन् भने १० जना क्वारेन्टाइनबाट फर्किएका छन् ।
यसैगरी अमेरिकामा एक नेपाली मूलका नागरिकसहित छ नेपालीको मृत्यु भएको छ । तीनको मृत्यु कोरोना भाइरसका कारण पुष्टि भइसकेको छ भने बाँकी तीन जनाको पुष्टि हुन बाँकी रहेको जनाइएको छ । त्यहाँ कुल ६० जना नेपाली सङ्क्रमित छन् । सबैभन्दा बढी न्युयोर्कमा ४५ जना नेपाली सङ्क्रमित छन् । त्यहाँ यो सङ्ख्याभन्दा धेरै नेपाली सङ्क्रमित रहेको अनुमान छ ।
मन्त्रालयका अनुसार, विभिन्न सहरको आफ्नै स्थानीय कानुन अनुसार सङ्क्रमितको विवरण गोप्य राखिएकाले पूर्ण जानकारी आउन अझै बाँकी छ । अमेरिकास्थित नेपाली दूतावासका अनुसार नेपाली नागरिकको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सङ्क्रमित बढ्दै
बेलायत र अमेरिकापछि सबैभन्दा बढी नेपाली सङ्क्रमित रहेको देश बहराइन हो । नेपालको श्रम गन्तव्यमध्ये एक बहराइनमा २२ जना नेपाली नागरिक सङ्क्रमित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ती सबैको उपचार भइरहेको छ । पोर्चुगलमा १२ जना नेपालीलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । त्यहाँ थप २१ नेपाली क्वारेन्टाइनमा रहेका छन् ।
त्यस्तै, श्रम गन्तव्यकै अर्को मुलुक कुबेतमा १२ जना नेपालीलाई कोरोना सङ्क्रमण रहेको छ । यूएईमा ११ जनालाई सङ्क्रमण छ । त्यहाँ नौ जना नेपाली क्वारेन्टाइनमा छन् भने दुई जना घर फर्केका छन् । त्यस्तै, अस्ट्रेलियामा आठ जना नेपालीमा कोरोना सङ्क्रमणको पुष्टि भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । त्यहाँ थप सात जना नेपाली क्वारेन्टाइनमा रहेका छन् ।
त्यस्तै खुला सिमाना रहेको भारतमा धेरै नेपाली कामदारलाई कोरोना सङ्क्रमण भएको अनुमान छ । मन्त्रालयलाई प्राप्त जानकारीमा भने एउटै परिवारका आठ जनाको विवरणमात्र सामेल छ । अछाम घर भएका ती परिवारको उपचार भइरहको छ ।
त्यसैगरी, स्पेनका आठ नेपाली पनि कोरोना सङ्क्रमणको चपेटामा परेका छन् । तीमध्ये केही उपचारपछि घर फर्केका छन् भने केहीको उपचार चलिरहेको छ । स्विटजरल्यान्डमा पाँच जना नेपालीमा कोरोना भाइरसको सङक्रमण देखिएको छ । अर्को प्रमुख श्रम गन्तव्य साउदी अरबमा चार नेपाली सङ्क्रमित छन् । त्यहाँ एक नेपाली उपचारपछि निको भएका छन् ।
जापानमा पनि दुई नेपाली कोरोना सङ्क्रमणपश्चात उपचारका क्रममा रहेको परराष्ट्र मन्त्रालयले बताएको छ । त्यसैगरी, इजरायल, हङकङ, न्युजिल्यान्ड र मलेसियामा एक÷एक जना नेपाली सङ्क्रमित रहेको जनाइएको छ ।
गोरखापत्रअनलाइनबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्