नेपालीहरुको सुरक्षामा चासो, सम्बन्धित राजदुतहरुलाई परराष्ट्र मन्त्री ज्ञवालीको निर्देशन

काठमाडौँ – परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ को सन्दर्भमा युरोपका विभिन्न मुलुकसहित अस्ट्रेलिया र थाइल्यान्डमा रहेका नेपालीको सुरक्षामा चासो दिन सम्बन्धित राजदूतलाई निर्देशन दिएका छन् । यतिबेला युरोपमा कोरोना भाइरसको कहर बर्सिरहेकाले त्यसबाट नेपाली नागरिकलाई सुरक्षित राख्न सरकारका तर्फबाट मन्त्री ज्ञवालीले पहल गरेका हुन् ।
बिहीबार त्यहाँस्थित राजदूतलाई टेलिफोन गरी मन्त्री ज्ञवालीले त्यस क्षेत्रका नेपालीको वर्तमान अवस्थाको जानकारी गराउनसमेत निर्देशन दिए । टेलिफोन संवादका क्रममा उनले त्यहाँका नेपालीको हित सुरक्षाका लागि आवश्यक सहयोग दिन हरबखत तयार रहनुहोस् भने ।
सो क्रममा भिसा सकिएकालाई भिसाको म्याद थप्ने प्रक्रियाका लागि त्यहाँको सरकारसँग समन्वय गरी नेपाली नागरिकलाई सहज बनाउन पनि मन्त्री ज्ञवालीले थप निर्देशन दिए । उनले कुनै नेपालीले पनि भिसा सकिएका कारण अवैध भएर बस्न नपरोस् भनी राजदूतावास चनाखो रहनु पनि भनेको छ ।
मन्त्री ज्ञवालीले नेपालीलाई कुनै अप्ठेरो वा समस्या परेमा सकेसम्म त्यहीँ समाधान गर्ने र नसकेको खण्डमा हरेक दिन परराष्ट्र मन्त्रालयमा रिपोर्ट बनाएर पठाउनसमेत भनेको छ । राजदूतावास वा कूटनीतिक नियोगमा हटलाइन नम्बर र कर्मचारी अद्यावधिक राखेर २४ घण्टा त्यहाँ रहेका नेपालीको समस्या सुन्न र सहयोगका लागि पहल गर्न राजदूत तथा नियोगलाई सचेत गराएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्