प्रदेश नं. १ को सीमा क्षेत्रमा कडाई, ३ हजार भन्दा बढी सशस्त्र परिचालन

विराटनगर – नेपालसँग सीमा जोडिएका भारतीय राज्यमा कोरोना भाइरसको संक्रमण बढेपछि सीमा क्षेत्रमा सशस्त्र प्रहरीको परिचालन बढाइएको छ ।

प्रदेश १ मा सशस्त्र प्रहरीले आफ्नो जनशक्तिलाई सीमा क्षेत्रमा नै केन्द्रित गरेको छ । यसअघि दशगजा क्षेत्रदेखि १ किलोमिटर टाढा रहेको सशस्त्रको सुरक्षा पोस्ट दशगजा क्षेत्रमा खडा गरिएको छ ।

खुला सीमानाका कारण भारतबाट मानिसहरु लुकिछिपी नेपाल प्रवेश गर्ने सम्भावना देखिएकाले जनशक्तिलाई सीमा क्षेत्रमा केन्द्रित गरेको सशस्त्र प्रहरी बलको प्रदेश १ बाहिनीले जनाएको छ ।

सशस्त्र प्रहरीको जवानको आधारभूत तालिममा रहेका प्रशिक्षार्थी, प्रधान कार्यालय र अन्य प्रदेशबाट समेत जनशक्ति थप गरेर सीमा क्षेत्रमा परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपाल प्रदेश १ बाहिनी मुख्यालयले जनाएको छ ।

भारतको विहार र पश्चिम बंगाल राज्यसंग सीमाना जोडिएको प्रदेश १ का जिल्ला इलाम, झापा मोरङ र सुनसरीको सीमाबर्ती क्षेत्रमा जनशतिmलाई केन्द्रित गरेको बाहिनीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) नगेन्द्र थापाले जानकारी दिए ।

सीमा क्षेत्रमा नयाँ पोस्ट थपेर सात जनाको दरले ड्युटीको व्यवस्था मिलाइएको छ ।

भारतसँग झापा, मोरङ र सुनसरीको २ सय ७० किलोमिटर र इलामको ५२ किलोमिटिर सीमा क्षेत्र रहेको छ । यहाँ एक सय ५१ वटा पोष्ट तयार गरी ३ हजार २ सय सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

झापाको सीमा क्षेत्रमा ५८, सुनसरीमा ५१ मोरङमा ३५ र इलाममा एउटा नयाँ पोस्ट थपिएको छ । यसअघि इलाममा एक र अन्य तीन जिल्लामा गरी जम्मा २४ वटा सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट रहेको थियो ।

लकडाउनअघि प्रदेश १ को सीमावर्ती क्षेत्रमा दशगजा क्षेत्रदेखि १ किलोमिटर टाढा सशस्त्रको चेकपोस्ट राखिएको थियो । लकडाउनपछि सशस्त्र प्रहरीले दशगजा क्षेत्रमा नै नयाँ चेकपोष्ट तयार गरी सीमा क्षेत्रमा मानिस आवत आवजमा पूर्ण रुपमा कडाइ गरेको जनाएको छ ।

सशस्त्र प्रहरीले दशगजा क्षेत्रमा अहिले चौबिसै घण्टा गाडी, मोटरसाइकल, साइकल र पैदल गस्ती गरिरहेको जनाएको छ । त्यस्तै आकस्मिक चेकजाँच र इन्टिलिजेन्स प्रयोग गरेर बोर्डरलाई सिल गरी मानिसहरुको आवत–जावतलाई पूर्णरुपमा रोकिएको डीआईजी थापाले जानकारी दिए ।
अनलाइनखबरबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्