भारतसँगका सीमा अनिश्चितकालका लागि बन्द, सीमा क्षेत्रमा थप सुरक्षाकर्मी तैनाथ गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ – सरकारले भारतसँगको सिमानामा अझ कडाई गर्ने भएको छ ।

मन्त्रिपरिषदको मंगलबारको बैठकमा भारतमा कोरोना भाइरस संक्रमण फैलिदो अवस्थामा रहेकाले सीमा क्षेत्रमा थप सुरक्षा तैनाथीसहित कडाई गर्ने निर्णय भएको हो ।

’भारतमा कोरोनाको प्रकोप फैलिइरहेको छ । यसैले भारतमा कोरोनाको प्रकोप साम्य नहुँदासम्म आवतजावत बन्द गर्ने निर्णय गरिएको छ,’ मन्त्रिपरिषद स्रोतले बतायो ।
लकडाउनको समयमा नै स‌ंक्रमितहरु भारतबाट नेपाल प्रवेश गरेको खुलासा भएपछि सरकारले सीमामा थप कडाइ गर्ने पनि निर्णय गरेको छ । कञ्चनपुर र रौतहटका संक्रमित युवा लकडाउन घोषणा गरिएपछि पैदलै नेपाल प्रवेश गरेका थिए ।

मन्त्रिपरिषदमा विभिन्न विकास परियोजनामा कार्यरत श्रमिकहरुलाई सुरक्षित ढंगले काममा लगाउने र त्यस्ता परियोजनाहरु चालु राख्ने बारेमा छलफल भएको छ । त्यसो गर्दा विकास आयोजना सञ्चालन पनि हुने र मजदुरको व्यवस्थापन पनि हुने सरकारको विश्लेषण छ । जलविद्युत, सडक निर्माणलगायतका ठूला परियोजनाका काम सुरक्षा विधि अपनाएर जारी राखिने भएको छ ।

मन्त्रिपरिषद बैठकमा काठमाडौंका सनसिटी अपार्टमेन्टमा संक्रमित भेटिएपछिको अवस्थाका बारेमा पनि छलफल भएको छ ।

सनसिटी अपार्टमेन्ट सिल गरिसकेको र सबैलाई परीक्षण गरेर क्वारेन्टिनमा राखिने भएको छ । त्यस्तै परीक्षणको दायरा बढाउदै लगिएको र यसलाई अबका दुई सातामा हजारौंमा पुर्‍याउने सरकारको तयारी छ ।

सरकारले अन्तराष्ट्रिय उडान पनि वैशाख १८ गतेसम्मका लागि स्थगित गरिसकेको छ ।

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्