भक्तपुर अस्पतालमा कोरोनाको परीक्षण सुरु

भक्तपुर – भक्तपुर अस्पतालले कोरोना भाइरस (कोभिड १९) को परीक्षण गर्न सुरु गरेको छ ।

अस्पतालले विदेशबाट आएर घरमा एकान्तवासमा बसिरहेका र उनीहरुसँगको सम्पर्कमा रहेकाहरुको र्‍यापिड किट (र्‍यापिड डाइग्नोस्टिक टेस्ट) मार्फत कोरोना परीक्षण सुरु गरेको हो ।

वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयले जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरलाइ तीन सय र्‍यापिड किट पठाएको थियो ।

विदेशबाट आएका र उनीहरुको सम्पर्कमा रहेर घरमा एकान्तवास बसेका, चिकित्सकको निर्देशन अनुसार १४ देखि २१ दिनसम्म क्वरेण्टीनमा बसेकाहरुको र्‍यापिड किटमार्फत परीक्षण गरिने भएको हो ।

परीक्षणमा रिपोर्ट पोजेटिभ आएमा आइसोलेशनमा राखेर उपचार गर्ने र थप परीक्षण एवम् उपचार आवश्यक परे काठमाण्डौको सरुवा रोग नियन्त्रण अस्पताल टेकु पठाइने मेडिकल सुपरिटेन्डेन्ट डा. गौतमले जानकारी दिए ।

अस्पतालले अहिलेसम्म एक सय ५४ जनाको स्वाब नमुना सङ्कलन गरी राष्ट्रिय प्रयोगशाला टेकु पठाएकोमा ९० जनाको रिपोर्ट नेगेटिभ आएको र अन्यको रिपोर्ट आउनै बाँकी रहेको उनले बताए ।

साथै रुघाखोकी लागेर दैनिक २५ देखि ५० जनासम्म स्वास्थ्य परीक्षणका लागि आएको जानकारी दिँदै अस्पतालले चार शय्याको आइसोलेशनलाई बढाएर १० शय्यामा पु‍र्याएको उनले जानकारी दिए ।

आइतबार आठ जनाको आइसोलेशनमा उपचार भइरहेको जानकारी दिँदै उनले आइसोलेशनमा दैनिक बिरामी बढिरहेको बताए । जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले आजदेखि जिल्लाका अस्पतालको अनुगमन समेत सुरु गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्