एमाले सुदूरपश्चिममा नेतृत्व चयनका लागि आज मतदान

कैलाली – नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेश कमिटी प्रथम अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज मतदान हुँदै छ। सोमबार साँझ निर्वाचन कमिटीले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार मंगलबार बिहान ७ बजेदेखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ। उम्मेदवारी दर्ता भएपछि उम्मेदवारको प्रारम्भिक नामावली बिहान साढे ११ बजे प्रकाशन गर्ने तयारी छ। त्यही समयभित्र उम्मेदवारको विरोधमा उजुरी दिन निर्वाचन कमिटीले समय तोकेको छ। उम्मेदवारी फिर्ता गर्न कमिटीले साढे १२ बजेदेखि २ बजेसम्मको समय दिएको छ। निर्वाचन तालिकाअनुसार मंगलबार दिउँसो साढे २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।

एमाले सुदूरपश्चिमको निर्वाचन समितिले दिउँसो साढे २ बजे अन्तिम नामावली प्रकाशन गर्ने र बेलुकी ५ बजेदेखि मतदान सुरू गर्ने बताएको छ।

एमालेको सुदूरपश्चिम अध्यक्षका लागि तीन जनाले दाबी गरेका छन्। संघीयता कार्यान्वयनपश्चात् भएको पहिलो प्रदेश सभा निर्वाचनमा एमालेले सुदूरपश्चिम प्रदेश सभामा २५ सिट जितेको थियो। नेकपा हुँदा एमाले र माओवादीका ३९ सांसद पुगेका थिए। नेकपा विभाजन भएर एमाले अलग र त्यसबाट पनि एकीकृत समाजवादी अलग्गिएपछि यो पार्टीका ११ सांसद मात्रै प्रदेश सभामा थिए।

२०७९ सालको प्रदेश सभा निर्वाचनमा प्रत्यक्षमा ३ र समानुपातिक ७ गरेर एमालेले १० सिटमात्र जित्यो। २०७४ को तुलनामा एमालेले २०७९ को निर्वाचनमा सुदूरपश्चिम प्रदेश सभामा ५० प्रतिशत बढी सिट गुमाएको छ।

सुदूरपश्चिममा भीम रावलसित पार्टी नेतृत्वको मनमुटावले पनि एमालेले हार व्यहोर्नु परेको चर्चा हुन्छ। यो अवस्थामा पार्टीलाई एक ढिक्का बनाउने र २०८४ को निर्वाचनमा एकल सरकार बनाउने एजेन्डा बोकेर प्रदेश अध्यक्षका दाबेरदारहरू प्रतिनिधिमाझ गएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्