रोल्पा र जाजरकोटका १९ मजदुर मेलम्चीमा अलपत्र, भन्छन् ‘घर जाने र खाने पैसा छैन’

सुशील सुवेदी
सिन्धुपाल्चोक – सडकको मजदुरी गर्दै आएका जाजरकोट र रोल्पाका १९ मजदुर सिन्धुपाल्चोकमा अलपत्र परेका छन् ।

पुसदेखि मेलम्ची नगरपालिकाको सडक मर्मतका लागि ठेकेदारले ल्याएका उनीहरु अहिले अलपत्र अवस्थामा रहेका छन् । ठेकेदार प्रकाश श्रेष्ठ सम्पर्कविहीन भएपछि कामदारहरु १० दिनदेखि भोकभोकै परेका हुन् ।
मजदुरहरु मेलम्ची वडा नम्बर १० मा बस्दै आएका छन् । देशभर लडकडाउन भएदेखि ठेकेदार भने सम्पर्कविहीन भएका छन् ।
उनीहरुको समूहमा दुई महिला र र १७ पुरुष छन् । अलपत्र पर्नेमा रोल्पाका ६ र जाजरकोटका १३ जना छन् ।

‘हामीलाई काम दिन भनेर ठेकेदारले यहाँ ल्याए तर अहिले आपतको समयमा सम्पर्कविहीन भएकाले हामी अलपत्रमा परेका छौ’, जाजरकोट छेडागाड गाउँपालिकाका कर्णबहादुर पुन मगरले भने, ‘ दैनिक खानका लागि अहिले समस्या भएको छ ।’उनले डकडाउनका कारण नौ दिनदेखि काम नगरिएको र घर जाने र खाने खर्च नभएको बताए ।

अलपत्र पर्नेमध्येका एक रोल्पा त्रिवेणी गाउँपालिकाका कर्णबहादुर खड्का सरकारले राहत दिने भनी धाउँदैमा दिन बितेको बताउछन् । ‘घर जान मन थियो’, उनले भने, ‘न त जान पाइन्छ, न ठेकेदार फोन उठाउँछ, न त हामी नै केही गर्न सक्छौं ।’
ठेकेदारको खोजीमा प्रहरी कार्यालयसम्म पुगेपछि केही नभएको उनीहरुको गुनासो छ ।
मेलम्ची नगरपालिका वडा नम्बर १० का अध्यक्ष भक्तबहादुर कार्कीले उनीहरु अलपत्र परेकाले राहत दिने प्रक्रिया सुरु भएको बताए । दैनिक काम गरेर खानुपर्ने श्रमिक भएकाले उनीहरुको विषयमा उचित निर्णय गर्न नगरपालिकामा लेखेर पठाइएको र छिटै राहत दिइने उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्