देशभरी ११ स्थानमा कोरोनाको परीक्षण हुँदै, हालसम्म ३ हजार ५ सय २४ जनाको नमुना परीक्षण

काठमाडौँ — नेपालमा हालसम्म ३ हजार ५ सय २४ जनाको कोरोना भाइरसको परीक्षण गरिएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको ’मिडिया ब्रिफिङ’का क्रममा प्रवक्ता डा विकास देवकोटाले मुलुकमा कोरोना परीक्षण बढिरहेको बताए ।

२४ घण्टामा टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ४०१ नमुना परीक्षण भएको छ भने उपत्यका बाहिर २२९ नमुना परीक्षण गरिएको छ । प्रवक्ता देवकोटाले परीक्षणको दायरा बढाएसँगै नमुना परीक्षण बढिरहेको बताए ।

शुक्रबारको अपडेटमा आइसोलेसनमा देशभरी १२५ जना रहेका छन् । उपत्यकामा १५ जना आइसोलेसनमा छन् भने उपत्यकाबाहिर १०० जना रहेका छन् । क्‍वारेन्टाइनमा हालसम्म ८ हजार ६ सय ६० जना रहेका छन् ।

आरडीटीबाट गरिने परीक्षणमा कैलालीमा ३ सय ३९ नमुना परीक्षण भएका छन् भने कञ्चनपुरमा १३७ नमुना परीक्षण गरिएको छ र सबैको रिपोर्ट नेगेटिभ नै आएको छ । कपिलवस्तुमा २१ वटा परीक्षण भएका छन् बागलुङमा १९ वटा परीक्षण भएका छन् र यी परीक्षणको नमुना पनि नेगेटिभ नै आएको छ ।

अरु जिल्लामा पनि परीक्षण सुरु भएको र नतिजा र परीक्षणको संख्या आउन बाँकी रहेको प्रवक्ता देवकोटाले बताए । कोसी अस्पतालमा शुक्रबारबाट पीसीआरबाट कोरोना परीक्षण सुरु भएको बताइएको छ । यसैगरी देशभरी ११ स्थानमा कोरोनाको परीक्षण भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्