टेकु अस्पतालमै आइसीयू र भेन्टिलेटरको कमी, थप्ने तयारी

काठमाडौँ – दुई जना कोरोना संक्रमितको उपचार भइरहेको टेकु अस्पतालमा अहिले तीनटा आइसियू र दुइटा भेन्टिलेटर छन् ।

सरकारले टेकु अस्पताललाई कोरोना विशेष अस्पताल तोकेसँगै अस्पतालमा २० वटा आइसियू बेड तयार पार्ने जनाएको थियो । अहिले अस्पतालमा आइसियू बेड विस्तार गर्ने काम भइरहेको छ ।

अस्पतालका निर्देशक सागर राजभण्डारीका अनुसार आइतबारसम्म आइसियू बेड राख्ने काम सकिनेछ ।

’१७ वटा आइसियू र पाँच वटा भेन्टिलेटर थप्ने काम भइरहेको छ,’ उनले भने ।

अस्पतालमा आइसियू हेर्ने चिकित्सकको पनि अभाव रहेको भन्दै उनले मन्त्रालयसँग थप पाँच जना त्यस्ता चिकित्सक माग गरेको बताए । उनले आइसियूमा काम गर्ने चिकित्सक वीर अस्पतालबाट आउनसक्ने जनाए । अहिले अस्पतालमा आइसियूमा काम गर्ने एकजना मात्र चिकित्सक छन् ।

उनले अस्पताललाई हाललाई पुग्ने जनशक्ति पर्याप्त रहे पनि बिरामी थपिएपछि अहिलेको जनशक्तिले नधान्ने बताए ।

उनले भने, ’हामीले नर्सिङ एसोसिएसनसँग पनि कुरा गरेका छौं। भोलि आवश्यक परे उहाँहरू तुरून्त आउनुहुन्छ ।’ अहिले अस्पतालमा रहेका खाली कोठाहरूमा आइसियू बेड राख्नलाई काम भइरहेको छ । बेडहरू पनि आइपुगेको छ ।

निर्देशक राजभण्डारीले अस्पतालले छुट्टै अक्सिजन प्लान्ट पनि बनाइरहेको बताए ।

यो प्लान्ट बनेपछि सिलिन्डरबाट अक्सिजन दिनुपर्ने झन्झट टर्ने उनले जनाए ।

अस्पतालमा २० वटा आइसोलेसन तयार पार्ने काम पनि भइरहेको छ । त्यो भएपछि अस्पतालमा २५ वटा आइसोलेसन हुनेछ ।

सरकारले टेकु अस्पताललाई कोरोना विशेष अस्पताल तोकेपछि अस्पतालमा दिइँदै आएको अन्य सेवाहरूलाई अन्य अस्पतालमा सारिएको थियो । अहिले अस्पतालले कोभिड(१९ बाहेक एन्टिरेबिज भ्याक्सिनको सेवा प्रदान गरिरहेको छ ।

सरकारले भोलि आउनसक्ने परिस्थितिलाई मध्यनजर गर्दै अस्पतालहरूमा आइसियू र भेन्टिलेटर थप्ने काम गरिरहेको छ । चिकित्सकहरूका अनुसार कोरोनाका गम्भीर बिरामीलाई आइसियूमा सार्नुपर्ने र श्वासप्रश्वासमा समस्या आइपरेको अवस्थामा भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ ।
सेतोपाटीबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्