को हुन् नवनियुक्त  गभर्नर  महाप्रसाद अधिकारी ?

नवनियुक्त  गभर्नर  महाप्रसाद अधिकारी पूर्वीपहाडी जिल्ला खोटाङको सिमपानीमा जन्मिएका विसं. ०२० सालमा जन्मिएका हुन् । औपचारिक शिक्षाको शुरुवात खोटाङमै गरेका उनी उच्च शिक्षाका लागि काठमाडौं आए ।

पढाइसँगै रोजगारी खोज्नुपर्ने बाध्यताका कारण उनी जागिर खोज्न भौंतारिए । जागिर खोज्ने क्रममा उनले राष्ट्र बैंकमा जागिर खुलेको थाहा पाए । वि.सं. ०४२ सालमा राष्ट्र बैंकमा सहायक स्तरबाट उनले करियर शुरु गरेका थिए ।

अध्ययनसँगै सहायकस्तरबाट काम शुरु गरेका उनी वि.सं. ०५१ सालमा राष्ट्र बैंकको उप निर्देशक बनेका थिए । ५ वर्ष ३ महिना उपनिर्देशकका रुपमा काम गरेका उनी ०५६ मा निर्देशकमा बढुवा भएका थिए । निर्देशकमा ९ वर्ष ६ महिना बिताएका उनी ०६५ सालमा कार्यकारी निर्देशकमा बढुवा भएका थिए ।

कार्यकारी निर्देशकमा बढुवा भएको २ वर्ष ३ महिनामा अर्थात ०६७ सालमा सरकारले उनलाई राष्ट्र बैंकको सेकेन्डम्यान अर्थात डेपुटी गभर्नरमा नियुक्त गरेको थियो ।

२०६५ मा कार्यकारी निर्देशक बनेका उनी सन् २०१० मा भने डेपुटी गभर्नरमा नियुक्त भएका थिए । अधिकारीले तीन दशक राष्ट्र बैंकमा बिताएका छन् । अधिकारीले नेपालको वित्तीय क्षेत्रमा तीन दशक सेवा गरेका छन् ।

डेपुटी गभर्नर छँदै गभर्नरका लागि सिफारिसमा परेका उनी गभर्नर नियुक्ति भने भएनन् । डा. चिरन्जिवी नेपाल गभर्नर बनेपछि ५ वर्षे कार्यकाल पूरा गरेर उनी ०७३ सालमा राष्ट्र बैंकबाट बाहिरिएका थिए । त्यसपछि सरकारले उनलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । गत वर्ष अधिकारीको नेतृत्वमा अन्तर्राष्ट्रिय लगानी सम्मेलनसमेत सम्पन्न भएको थियो ।

अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट वि. सं. २०४६ मा व्यवस्थापन संकायमा स्नातकसम्मको अध्ययन पूरा गरेका छन् भने इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ इण्डियाबाट चार्टर्ड एकाउन्टेट (सीए) गरेका छन् ।

 

अनलाइनखबरकाे सहयाेगमा 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्