बाघमा पनि कोरोना भाइरस संक्रमण देखियो

File Photo

काठमाडौँ – अमेरिकाको न्यूयोर्क सिटीमा रहेको ब्रोन्क्स चिडियाखानामा राखिएको बाघमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । अमेरिकाको कृषि विभागले अन्य ६ बाघमा पनि कोरोनाभाइरसको लक्षण देखिएको जानकारी दिएको छ ।

‘हामीलाई थाहा भएअनुसार जंगली जनावरमा देखिएको यो पहिलो संक्रमण हो,’ ब्रोन्क्स चिडियाखानाका प्रमुख पशु चिकित्सक पल क्यालेले भने । नादिया नाम दिइएको उक्त बाघ कोही संक्रमित व्यक्तिबाट सरेको अनुमान गरिन्छ ।

‘सम्भवतः संक्रमणको कुनै लक्षण नदेखिएका चिडियाघरका कर्मचारीमार्फत् बाघमा यो सरेको हुनसक्छ, यही एउटा कुराले मात्रै अर्थ राख्छ,’ क्यालेले भने ।

उक्त चिडियाघर मार्च १६ तारिखदेखि आगन्तुकका लागि बन्द गरिएको छ ।

मार्च महिनाको अन्तिम हप्तामा सुख्खा खोकी लागेपछि चार वर्षको बाघ नादियाको अप्रिल २ तारिखमा कोरोनाभाइरसको परीक्षण गरिएको क्यालेले जानकारी दिए । नादियाका बहिनीहरु दुईवटा साइबेरियन बाघ र तीनवटा अफ्रिकी बाघलाई पनि खोकी लागेको र उनीहरुले खान मन नगरेको बताइएको छ । यद्यपि, उनीहरुमा कोरोनाभाइरसको परीक्षण भने गरिएको छैन । चिडियाघरमा जम्मा सातवटा बाघ पशु चिकित्सकको निगरानीमा रहेका छन् । यी सबै निको हुने आशा गरिएको छ ।

ब्रोन्क्स चिडियाघर सञ्चालन गर्ने वाइल्डलाइफ कन्जर्भेसन सोसाइटीले यो रोग जनावरहरुमा कसरी सर्छ र यसको प्रभाव कस्तो रहन्छ केही थाहा नभएको बताउँदै सावधानी अपनाउन आग्रह गरेको छ ।

स्रोतः नेसनल जियोग्राफिक

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्