नेशनल प्याब्सन काठमाडौँको आयोजनामा शुक्रवार कविता वाचन प्रतियोगिता हुने

काठमाडाैं – नेशनल प्याब्सन काठमाडौँ जिल्ला समितिको आयोजनामा आउदो शुक्रवार कविता वाचन प्रतियोगिता हुने भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै नेशनल प्याब्सन काठमाडौं जिल्ला समितिले श्रावण १९ गते शुक्रवार काठमाडौँको काँडाघारीमा रहेको भीमेश्वर स्कुल प्राङगणमा विहान १० बजेर ३० मिनेटमा सुरु हुने र दिउँसो ३ बजे सम्पन्न गर्ने गरि कविता वाचन प्रतियोगिता गर्न लागेको बताएको छ ।

पत्रकार सम्मेलनमा बाेल्दै नेशनल प्याब्सन केन्द्रिय समितिका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार कर्णबहादुर शाहीले विद्यार्थीहरुको अन्र्तनिहित प्रतिभा प्रस्फुटन गर्न यस्ता कार्यक्रम आवश्यक रहेको वताउनुभयो । पढाइसँगै विद्यार्थीहरुलाई यस्ता अतिरिक्त क्रियाकलापमा सहभागी गराउन नेशनल प्याब्सनले खेलेको भुमिकाको प्रसंशा समेत गर्नुभयो । उहाँले देश विकासको मुख्य आधार शिक्षा भएकोले सञ्चार क्षेत्रले पनि शिक्षालाई प्राथमिकतामा राखि प्रकाशन प्रशारण गरिदिन समेत अनुरोध गर्नुभयो ।

यस्तै नेशनल प्याब्सन जिल्ला समिति सचिव अमृत खड्काले यस बर्षको यो कार्यक्रम अझै फलदायी हुने बताउनुभयो । विगतका बर्षहरुमा अन्य स्रष्टाहरुको कविता जस्ताको त्यस्तै भन्ने गरिएपनि यसबर्ष आफ्नै रचना हुने भएकोले विद्यार्थीको वास्तविक कलाको पहिचान हुने समेत बताउनुभयो । उहाँले सभ्य र भव्य रुपमा प्रतियोगितालाई सम्पन्न गर्न सबैको सहयोग रहेको समेत बताउनुभयो ।

६५ विद्यालय सहभागी हुने गरी कविता वाचन प्रतियोगिता हुन र उक्त प्रतियोगिताको संयोजन भने नेशनल प्याब्सन कागेश्वरी मनोहरा नगर समितिले गर्ने छ ।


प्रतियोगितामा ६५ विद्यालयका कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत छात्र वा छात्रा मध्येबाट १ जनाले सहभागी हुन पाउनेछन । प्रतियोगितामा वाचन गर्ने कविता प्रतियोगीको आफ्नै रचना हुनुपर्ने समेत भनिएको छ । यस्तै रचित प्रतियोगी कविता गद्य वा पद्य दुवै शैलीमा हुन सक्नेछ भने कबिता बढीमा दुई सय शब्दसम्मको हुनु पर्नेछ ।

कविता वाचनको माध्यम नेपाली भाषा हुनुका साथै प्रतियोगी वाचनकर्ताले स्पष्ट रुपमा लेखिएको एकप्रति रचना प्रतियोगिता सुरुहुनु भन्दा एक घण्टा अगावै आयोजकलाई बुझाउनुपर्ने समेत आयोजकले तोकेको छ । प्रतियोगितामा भाग लिन प्रति विद्यालय रु एक हजार सहभागी शुल्क बुझाउनुपर्नेछ । सहभागी हुने विद्यालयले श्रावण १६ गतेसम्म नाम दर्ता गराईसकेको र सोहि अनुरुप ६५ विद्यालय सहभागी हुन लागेको सचिव अमृत खड्काले जानकारी दिनुभयो ।


प्रतियोगीहरुले आफ्नो विद्यालयको पोशाक र परिचयपत्रको साथमा उपस्थित हुनुपर्नेछ भने कविताको छनोट गर्ने अन्तिम निर्णय निर्णायकको हुनेछ । प्रतियोगीहरुलाई वाचनको लागि गोलाप्रथाद्वारा पालो निर्धारण कोड प्रदान गरिनेछ भने प्रतियोगीहरुले वाचनको समयमा विद्यालयको नाम र अन्य प्रतियोगीतालाई बाधा पु¥याउने खालको सम्बोधन गर्ने पाइने छैन भनि अयोजकले नियम तोकेको छ ।

प्रतियोगीहरुमध्ये उत्कृष्ट पाँच जनालाई क्रमश प्रथम, द्धितीय, तृतीय, चतुर्थ र पाँचौ स्थान सम्म क्रमश रु ३ हजार, रु दुई हजार, रु १ हजार पाँच सय र एक हजार पुरस्कार सहित ट्रफी, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ भने सहभागी सम्पूर्णलाई प्रमाणपत्र प्रदान गरिनेछ ।
बुधवार आयोजित पत्रकार सम्मेलनमा नेशनल प्याब्सन काठमाडौँ जिल्ला समितिका कोषाध्यक्ष प्रेम कुमार भुजेल लगायत जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरु उपस्थित रहेका थिए । यसैगरी कागेश्वरी नगर समितिका पदाधिकारी, पत्रकारहरुको सहभागी भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्