दुईवटा मोबाइल कहिलेबाट ल्याउन पाइन्छ, त्यसको लागि कस्तो प्रक्रिया पूरा गर्नुपर्छ?

FILE PHOTO

सरकारले विदेशबाट आउँदा वैदेशिक रोजगारीबाट फर्किनेले आफ्नो साथमा बढीमा दुईवटा मोबाइल ल्याउन पाउने व्यवस्था गरेको छ।

मन्त्रिपरिषद्को मङ्गलवारको बैठकले झिटीगुन्टा नियमावली संशोधन गर्दै आफ्नो साथमा बढीमा दुई वटा मोबाइल ल्याउन पाउने व्यवस्था गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले बीबीसीलाई बताइन्।

तर उक्त निर्णयलाई कार्यान्वयनमा लैजान आफ्नो मन्त्रालयसहित श्रम मन्त्रालय र राजस्वमा समेत समन्वय गर्न बाँकी हुँदा थप स्पष्टता आउन बाँकी रहेको उनले बताइन्।

यसअघि भने व्यक्तिले आफ्नो साथमा भएको बाहेक अर्को मोबाइल ल्याउन नपाइने व्यवस्था गरिएकाले विदेशबाट फर्किनेहरूले थप फोन ल्याउँदा अन्तर्राष्ट्रिय विमानस्थलमा सास्ती खेप्नु परेको भन्ने विवरण आएका थिए।

उक्त व्यवस्थाले गर्दा त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कैयौँको मोबाइलमा ’धेरै पैसा थपेर’ मात्रै ल्याउन पाइएको भन्दै सामाजिक सञ्जालहरूमा आक्रोशसमेत पोखिएको थियो।

ल्याइएका मोबाइल भने मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा दर्ता हुनुपर्ने र त्यसका लागि प्रक्रिया सहज रहेको नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए।

विदेशबाट आउँदा दुईवटा मोबाइल ल्याउन पाइने सरकारको पछिल्लो निर्णयबारे हामीले केही प्रश्नहरू सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्मा र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई सोधेका छौँ।

मोबाइल कहिलेबाट ल्याउन पाइन्छ?
मन्त्री शर्माका अनुसार मन्त्रिपरिषद्को निर्णय बमोजिम झिटीगुन्टा नियमावली संशोधन भएको कुरा राजपत्रमा प्रकाशित हुनेछ। त्यसपछि अहिलेको निर्णय लागु हुनेछ।

त्यस्तो निर्णय लागु जेठ १ गतेबाट हुने भन्ने विवरण आएका छन्। तर शर्माले भने जेठ १ गतेबाट मिति तोक्न नसकिने भए पनि छिट्टै कार्यान्वयनमा आउने बताइन्।

उनले भनिन्, “मोटामोटी अब एक साता जति लाग्ला कि प्राविधिक काम सक्न भन्ने हो। त्योभन्दा छिटो हुन पनि सक्छ।“

विदेशबाट फर्किने सबैले मोबाइल फोन ल्याउन पाउँछन्?
सरकारको निर्णय अनुसार यो व्यवस्था अहिले वैदेशिक रोजगारीमा गएर नेपालमा आउनेहरूको हकमा मात्रै लागु हुने छ।

तर छोटो समयका लागि भ्रमणमा गएर फर्किनेले आफूले चलाएको बाहेक थप फोन सेट ल्याउन पाइने कि नपाइने भन्नेबारे अहिले स्पष्ट नभएको बताइएको छ।

“सामान्यतया यो व्यवस्था वैदेशिक रोजगारीमा गएका मानिसकै लागि हो। त्यसबाहेक अरूको हकमा थप स्पष्टता आउन बाँकी छ। हिजोको निर्णय प्रमाणित भएर आएपछि यसबारे थप स्पष्ट हुनेछ,“ मन्त्री शर्माले बीबीसीसँग भनिन्।

यसको आशय वैदेशिक रोजगारीबाट फर्किनेले आफूले आफ्ना श्रीमान्, श्रीमती, आमा वा परिवारका सदस्यलाई ल्याइदिन समस्या नहोस् भनेर यस्तो व्यवस्था गर्न लागिएको शर्माले बताइन्।

तर वैदेशिक रोजगारीबाट फर्किएका बाहेक विदेशबाट आउनेहरूले भन्सार र एमडीएमएसको प्रक्रिया पूरा गरेर लिन सक्ने उनले बताइन्।

वैदेशिक रोजगारीबाट आएकाले ल्याएको फोन सेटहरूमा भने भन्सार र दर्ता निःशुल्क हुने उनले बताइन्। बीबीसी

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्